तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र बहराइनबिच प्रतिस्पर्धा जारी रहेको छ।
मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा जारी खेलमा बहराइन ८७ रनमै समेटिएको छ। उसले नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको हो।
टस हारेर ब्याटिङ गरेको बहराइनले ३६.२ ओभरमा ८७ रनमा अलआउट भयो। बहराइनका लागि फियाज अहमदले १५, मुहम्मद वसिमले १३ रन तथा अली दाउदले रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
साथै, कप्तान सन्दीप लामिछाने एक्लैले बहराइनको पाँच विकेट लिए। १० ओभरमा ४ मेडेन फ्याँक्दै उनले १४ रनमात्रै खर्चिए। ललित राजवंशीले तीन तथा करण केसीले दुई विकेट लिए।
प्रतियोगितामा नेपालले बहराइनपछि मलेसिया, साउदी अरेबिया र हङकङसँग खेल्नेछ। समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्यमा रहेको नेपालका लागि बहराइनविरुद्धको सुरुवाती खेल निकै महत्वपूर्ण मानिएको छ।
एसीसी प्रिमियर कपको उपाधि हात पार्न सके आगामी एसिया कपको ढोकासम्म खुल्ने भएकाले नेपाली टोली दबाबसँगै उच्च आत्मविश्वासका साथ मैदानमा उत्रिएका छन्।
प्रकाशित: १५ भाद्र २०८३ १०:०५ सोमबार





