१५ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

‘सरकार, हाम्रा मान्छे खोजिदिनुस्!’

रसुवाको भोटेकोसीमा विनाशकारी बाढी आएको चार दिन बितिसक्यो, सम्पर्क भएको छैन तर पनि धेरै परिवारको प्रतीक्षा सकिएको छैन। सरकारी संयन्त्रले खोज तथा उद्धार जारी रहेको बताइरहे पनि सम्पर्कविहीन आफन्तका परिवार भने सामाजिक सञ्जाल, सञ्चारमाध्यम र स्थानीय प्रशासनमार्फत एउटै आग्रह गरिरहेका छन्, ‘सरकार, हाम्रा मान्छेको अवस्था पत्ता लगाइदिनुस्!’

विभिन्न जिल्लाका पीडित परिवारले सामाजिक सञ्जालमा आफन्तका तस्बिर, नाम र परिचय सार्वजनिक गर्दै उद्धारमा सहयोग गरिदिन आग्रह गरिरहेको सूचनाले फेसबुक भरिएको छ।

 केही परिवारले सम्बन्धित स्थानमा उद्धार टोली पठाइदिन माग गरेका छन् भने केहीले आफन्त जीवित छन् कि छैनन्, आधिकारिक सूचना भए पनि उपलब्ध गराइदिन सरकार र नागरिकसँग अपिल गरिरहेका छन्।

भदौ १० को भोटेकोसी बाढीपछि फेसबुक आम नागरिकका लागि ‘हेल्प डेक्स’ बनेको नागरिकको कार्यालय सुनधारामा भेटिएका बाढीपीडित सुवास खड्काको अनुभव छ।

बुबाको खोजी गरिदिन छोराको अनुरोध

सुवास खड्काका बुबा कुमार विगत डेढ वर्षदेखि अपर त्रिशूली– १ हाइड्रोपावरमा कार्यरत थिए। भदौ १० को बाढीपछि बुबा कुमारसँग सम्पर्क नभएकाले उनले आफ्नो फेसबुकमा बुबाको खोजीका लागि राज्य पक्षसँग अनुरोध गर्दै १२ जनालाई फेसबुकमा ट्याग गर्दै सूचना राखे। ‘भोटेकोसीमा बाढी आएको चार दिनपछि आइतबार मैले राज्यद्वारा सकुशल उद्धारमा बुबाको तस्बिर एउटा समाचार पोर्टलमा देखें’, नागरिकको कार्यालयमा बुबा खोज्दै आएका सुवासले भने, ‘तस्बिर देखेपछि बुबाबारे बुझ्न आएको हुँ।’ बुबा कतै जीवितै हुुनुहुन्छ कि भन्ने आशा अझै नमरेको सुवास सुनाउँछन्।

सुवास मात्र होइन, समाजिक सञ्जाललाई परिवार खोजतलासको हेल्प डेक्स बनेको धेरै बाढीपीडित सुनाउँछन्। सार्वजनिक रूपमा भेटिएका अपिलले भोटेकोसी विपद्पछिको मानवीय संकट राहत अभावको मात्र होइन, सम्पर्कविहीन आफन्तको अवस्थाबारे सूचना नहुनु पनि हो भन्ने स्पष्ट भएको सुवासको अनुभव छ ।

दिदीको खोजी गरिदिन बहिनीको आग्रह

रसुवा भन्सार कार्यालयकी नायब सुब्बा अनिता पुरी बाढीपछि सम्पर्कविहीन भएपछि उनकी बहिनी श्रेयनाले सामाजिक सञ्जालमार्फत सरकारसँग दिदीको उद्धारका लागि आग्रह गरिन्। श्रेयनाले टिमुरेमा बाढीबिच ठिङ्ग उभिएको एउटा घरको तस्बिर सार्वजनिक गर्दै अनितासहित केही कर्मचारी त्यही क्षेत्रमा रहेको सूचना आएको बताएकी थिइन्। उनले उक्त स्थानमा उद्धार टोली पठाएर दिदीको अवस्थाबारे बुझिदिन सरकारसँग आग्रह गरेकी छन् ।

देवबहादुरको खोजी गरिदिनुहोस्

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुरेश पन्तले कञ्चनपुरको भीमदत्त नगरपालिका– ५ बनगाउँका देवबहादुर चन्दको खोजीका लागि सामाजिक सञ्जालमार्फत अपिल गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा चन्दको तस्बिर सेयर गरेका छन्।

लाङटाङ हाइड्रोपावरमा कार्यरत चन्द तीन दिनदेखि सम्पर्कमा नआएकाले परिवार तथा आफन्त चिन्तित रहेको उनले उल्लेख गरेका छन्। पत्रकार पन्तले देवबहादुरको अवस्था पत्ता लगाई खोजी तथा उद्धारमा सहयोग गरिदिन सम्बन्धित सबैलाई सार्वजनिक रूपमै अपिल गरेका छन् ।

सुरुङबाट ६ जनाको उद्धार गरिदिनुस्

चिलिमे हाइड्रोपावरको सुरुङभित्र ड्युटीमा रहेका इन्जिनियर सन्तोष पाण्डेसहित ६ जना बाढीपछि सुरुङभित्रै फसेको आशंका गरिएको छ। सन्तोषका बहिनीज्वाइँले उद्धारका लागि धेरै ठाउँमा आग्रह गरे। सुरुङको मुख बाढीले थुनिएको भन्दै उनीहरूलाई तत्काल बाहिर निकाल्न पहल गर्न परिवारले आग्रह गरेको छ। परिवारले सन्तोषका साथै सुरुङभित्र रहेका सबैको तत्काल खोजी तथा उद्धारको माग विभिन्न सामाजिक सञ्जालबाट गरेका छन् ।

‘परिवार चिन्तित छ’

राजविराज नगरपालिका– १० निवासी रोशनकुमार यादव नेपाली सेनामा कार्यरत छन्। रसुवा पोस्टिङमा रहेका उनी बाढीपछि परिवारको सम्पर्कमा नआएपछि आफन्तले उनको तस्बिरसहित सामाजिक सञ्जालमा खोजीका लागि अपिल गरेका थिए। ‘सप्तरिया अजनवी’ नामक फेसबुक प्रयोगकर्ताले रोशनको तस्बिर राख्दै उनको अवस्थाबारे जानकारी भए परिवारलाई खबर गरिदिन आग्रह गरेका थिए। परिवारको माग छ - रोशन कहाँ छन्? उनको अवस्था के छ ? जानकारी उपलब्ध गराइयोस् ।

‘देख्नुभयो भने खबर गरिदिनुस्’

बाजुराको हिमाली गाउँपालिका– ६ पाँडीका मोहनलाल रोकाया र विक्रम भण्डारी रसुवाको टिमुरे बजारमा बस्दै आएका थिए। बाढीपछि दुवै सम्पर्कविहीन भएपछि परिवार तथा आफन्तले सामाजिक सञ्जाल र अन्य माध्यमबाट खोजीका लागि सहयोग मागिरहेका छन्। आफन्तले उनीहरूको फोन नलागेको बताउँदै कतै देखे वा अवस्थाबारे जानकारी पाएमा खबर गरिदिन आग्रह गरेका छन्।

किसनको खोजी होस्

किसन खतिवडाले भदौ १० गते बिहान इमिग्रेसन पास लिएका थिए। परिवारका अनुसार सोही बिहान करिब ८ बजे परिवारसँग फोन सम्पर्कसमेत भएको थियो, तर त्यसपछि उनी सम्पर्कविहीन भए। उनकी बहिनी कृतिका खतिवडाले सामाजिक सञ्जालमार्फत किसनको खोजी तथा उद्धारका लागि सहयोग मागेकी छन्।

हेमन्तराजको विश्वसनीय सूचना चाहियो

बझाङको जयपृथ्वी नगरपालिका– ८ का हेमन्तराज जोशी निर्माणाधीन त्रिशूली– ३ ‘बी’ जलविद्युत् आयोजना साइटमा कार्यरत थिए। उनीसहित ११ जनाको बाढीपछि परिवारसँग सम्पर्क हुन नसकेको सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। हेमन्तकी बहिनी सावित्री जोशीले परिवारको सबैभन्दा ठूलो समस्या आफन्तको वास्तविक अवस्थाबारे स्पष्ट सूचना नहुनु रहेको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्। उनले उद्धारसँगै विश्वसनीय र आधिकारिक सूचना प्रवाह आवश्यक रहेकोमा जोड दिएकी छन्।

डा. आचार्यको सूचना परिवारसम्म पु¥याइदिनुस्

कैलाश मानसरोवर यात्राका लागि गएको टोलीमा मेडिकल अफिसरका रूपमा सहभागी डा. आचार्य भोटेकोसी बाढीपछि केरुङबाट सम्पर्कविहीन भएको परिवारले सार्वजनिक गरेको छ। भदौ १० गते बिहान ८ः४५ बजेपछि उनीसँग सम्पर्क हुन सकेको छैन। उनको अवस्था थाहा पाउन परिवार तथा सम्बन्धित पक्षले खोजी गरिरहेका छन्। जानकारी पाउने जोकसैलाई परिवारसम्म सूचना पुर्‍याइदिन आग्रह गरेको एक सञ्चारमाध्यमको पेजमा उल्लेख छ ।

बुबालाई खोजिदिन छोरीको अपिल

भदौ ५ गते काठमाडौंबाट सरुवा भएर रामराजा रिमाल मैलुङ त्रिशूली– ३ए जलविद्युत् आयोजना पुगे। भदौ १० गते बिहान ९ः०९ बजे परिवारसँग सम्पर्क भयो। त्यसपछि उनी सम्पर्कमा छैनन्। रामराजाकी छोरी मन्दिराले सामाजिक सञ्जालमा हृदयविदारक भिडियो राखी सम्बन्धित निकायसँग बुबाको खोजीका लागि बिलौना गरिरहेकी छन्। मन्दिरा कोरियामा अध्ययनरत छिन्। रामराजाकी श्रीमती मीना पनि सामाजिक सञ्जालमार्फत पतिको खोजीका लागि आग्रह गरिरहेकी छन्। जम्ल्याहा छोराका पिता रामराजाको खोजीका लागि परिवारका सबैले आग्रह गरिरहेका छन् ।

‘टेकराज थामी: अत्यन्त जरुरी सूचना !’

‘मेरा श्रीमान टेकराज (बहादुर) थामी केरुङस्थित एक कार्यक्रममा सहभागी हुन मंगलबार रसुवागढी पुग्नुभएको थियोे। हिजो बिहान ८.२१ बजेसम्म मोबाइल लोकेसनमा देखिनुभयो’, पत्रकार कालिका खड्काले सामाजिक सञ्जाल फेसबुकबाट आफ्ना पतिलाई खोजिदिन आग्रह गर्दै लेखेकी छन्, ‘त्यसपछि फोन अफ छ। उहाँ अहिलेसम्म परिवारको सम्पर्कमा आउनुभएको छैन। पत्रकार अन्वेषण अधिकारीको म्यासेन्जरमा कल गरेजस्तो रातो संकेत मात्रै देखिएको हो। स्पष्ट आधार र सम्पर्क अहिलेसम्म केही प्राप्त भएको छैन।’

श्रीमती खड्काले पत्रकार थामीको अवस्थाबारे चिन्ता व्यक्त गर्दै सम्बन्धित सबै निकायबाट खोजी तथा उद्धारका लागि पहल गरिदिन अनुरोध गरेकी छन्।

यी ११ उदाहरण हेर्दा एउटा समानता देखिन्छ। उनीहरूले नगद राहत मागेका छैनन्। उनीहरूको पहिलो प्राथमिकता आफन्तको खोजी, उद्धार र अवस्थाबारे आधिकारिक सूचना प्राप्त गर्नु रहेको छ। केही विदेशी गोसाइँकुण्ड जाने क्रममा हराएको सूचना पनि राष्ट्रिय पत्रपत्रिकामा सार्वजनिक भएको छ।

कतिपय परिवारले सामाजिक सञ्जालमा आफन्तको तस्बिर राखेर सर्वसाधारणसँग सूचना मागेका छन्। कतिपयले सम्भावित स्थानको तस्बिर वा विवरण सार्वजनिक गर्दै सुरक्षा निकायलाई त्यहाँ पुगेर खोजी गर्न आग्रह गरेका छन्। केही परिवार भने आफन्त जीवित छन् कि छैनन् भन्ने आधिकारिक जानकारीको प्रतीक्षामा छन्। केही आफन्तले हृदयविदारक भिडियोमार्फत आफन्तको खोजी र उद्धारको माग गरेका छन्। यसले विपद् व्यवस्थापन कमजोरी पनि देखाएको छ -उद्धार भइरहे पनि परिवारसम्म सूचना पुग्ने प्रणाली पर्याप्त र प्रभावकारी छैन।

देशभरबाट ‘खोजी गरिदिनुस्’ दबाब बढ्दो

भोटेकोसी बाढीपछि रसुवामा मात्र नभई विभिन्न जिल्लाबाट काम, रोजगारी वा भ्रमणका लागि गएका नागरिक भोटेकोसी बाढीका कारण प्रभावित भई सम्पर्कविहीन भएका छन्। लमजुङका झपडबहादुर घर्ती र उनकी श्रीमती राधिका घर्ती, राजकुमार तामाङ, राजन थापा, सुगम सिलवाल लगायतको अवस्था अज्ञात रहेको सामाजिक सञ्जालबाट सार्वजनिक भएको छ। उनीहरूका परिवारले सम्बन्धित निकायसँग खोजी तथा अवस्थाबारे जानकारी दिन आग्रह गरेका छन्। हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १२ जना सम्पर्कविहीन भएको र उनीहरूका परिवारले तत्काल खोजी तथा उद्धारको माग गरेको रिपोर्ट पनि सार्वजनिक भएको छ।

सञ्जाल बन्यो ‘परिवारको हेल्प डेस्क’

फेसबुक मोनिटाइज तथा मनोरञ्जन र विवादित विषयवस्तु आदि सामग्री पोस्ट र अपलोडले भरिने सामाजिक सञ्जाल भोटेकोसी बाढीपछि पीडितहरूको उद्धार, राहत सूचना मात्र नभई आफन्त खोज्ने माध्यमसमेत बनेको छ। परिवारले सम्पर्कविहीन रहेकाहरूको तस्बिर, नाम, काम गर्ने संस्था, अन्तिम सम्पर्क समय र सम्भावित स्थान सार्वजनिक गरेर खोजी गरिदिन माग गरिरहेका छन् ।

प्रकाशित: १५ भाद्र २०८३ ०९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App