साउथ अफ्रिकाविरुद्धको पहिलो टी-२० मा अस्ट्रेलिया विजयी भएको छ।
डार्विनमा १७९ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोली साउथ अफ्रिकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १६१ रनमात्र बनाउन सकेपछि अस्ट्रेलिया १७ रनले विजयी भयो। योसँगै तीन खेलको शृंखलामा घरेलु टोलीले अग्रता बनाएको छ।
साउथ अफ्रिकाका लागि रियान रिचेल्टनले ७१ र त्रिस्टन स्टुब्सले ३७ रन बनाएपनि हार भने टार्न सकेनन्। साउथ अफ्रिकालाई कम स्कोरमा रोक्ने क्रममा जस हाजलउड र बेन वार्सुसले समान तीन विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले टिम डेभिडको विष्फोटक ब्याटिङ मद्दतमा निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १७८ रनको योगफल तयार पारेको थियो।
मध्यक्रममा क्रिजमा आएका डेभिडले ५२ बलमा ८ छक्का र ४ चौकाको मद्दतमा ८३ रन बनाए। क्यामरुन ग्रिनले ३५ रन बनाए।
क्वेना माफाकाले ४ र कागिसो राबाडाले २ विकेट लिए। दोस्रो खेल मंगलबार हुनेछ।
प्रकाशित: २५ श्रावण २०८२ १९:१० आइतबार





