२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
खेल

२२ वर्षपछि प्रिमियर लिगको उपाधि नजिक आर्सनल, कुन टिम बन्न सक्छ बाधक ?

पछिल्ला केही सिजनका इंग्लिस प्रिमियर लिगका खेलहरु केलाउने हो भने आर्सनललाई अभागी टोलीभन्दा फरक नपर्ला। हरेक सिजन बुलन्द सुरुवात गर्न सक्ने आर्सनल लिगमा मध्ययात्रा तय गरेपछि भने विस्तारै खस्कँदै जाने गर्छ, र अन्ततः सिजनको उपाधि चुम्नबाट चुक्छ । कति पटक त शीर्ष पाँच भित्र पर्न नसक्दा उसले च्याम्पियन्स लिगसहितका प्रतियोगिताहरु नै गुमाउने गरेको छ। म्यानचेष्टर सिटी, लिभरपुल, म्याचेष्टर युनाइटेड र चेल्सी हरेक पटक उसको उपाधि यात्रामा बाधक बन्दै आएका छन्। उपाधिको मुखैमा पुगेर पनि दी गनर्स ट्रफी भने उचाल्न चुक्दै आएको छ।  

सन् १९९२ देखि सञ्चालन भइरहेको प्रिमियर लिगको यति लामो यात्रामा आर्सनलले मात्र तीन पटक उपाधि जितेको छ। फ्रेन्च म्यानेजर आर्स्ने विंगलको नेतृत्वमा आर्सनलले पहिलो पटक सन् १९९७/०९८ को सिजन उपाधि उचालेको थियो। यसअघि उसले सन् २००१/०२ र सन् २००३/०४ को सिजन उपाधि जित्यो । तर सो पछिका कुनै पनि संस्करणमा उसले उपाधिमाथि कब्जा गर्न सकेको छैन। के यो सिजन द गनर्सले उपाधिको भोक भेटाउछ?  

प्रिमियर लिगमा यो सिजन आर्सनल सहितका क्लबहरुले ३५ खेल खेलिसकेका छन्। अब तीन खेल बाँकी छ। यो अवस्थामा आर्सनल शीर्ष स्थानमा कायम छ। तेस्रो स्थानको म्यानचेस्टर युनाइटेड, चौथो स्थानको लिभरपुल, पाँचौ स्थानको एष्टन भिल्ला, छैठौं स्थानको बर्नमाउथसहितका क्लबहरु उपाधि होडबाट बाहिरिसकेका छन्। दोस्रो स्थानको म्याचेस्टर सिटीको उपाधि होड भने कायम छ।  

समान ३५ खेलपछि आर्सनलको ७६ अंक छ भने सिटीको ७४ अंक छ। आर्सनलले आइतबार राति वेष्टहाम युनाटेडसँग प्रतिस्पर्धा गर्नेछ। यो खेलमा जित निकाल्न सके आर्सनलले दोस्रो स्थानको सिटीसँगको दुरी ५ अंकमा पुर्‍याउनेछ, जुन उपाधि यात्रामा एक कदम अघि बढ्नेछ। यस्तै १८ मेमा बर्नली र यो सिजनको प्रिमियर लिगको आफ्नो अन्तिम खेलमा आर्सनलले २४ मेमा क्रिष्टल प्यालेससँग खेल्नेछ। बाँकी रहेका यी तीन खेलमध्ये एकमात्र पराजयले आर्सनललाई उपविजेतामा सीमित गर्दिन सक्छ।  

शीर्ष स्थानको आर्सनलभन्दा मात्र २ अंकले पछि रहेको म्यानचेस्टर सिटीले पनि विस्तारै आफ्नो उपाधि यात्रा बलियो बनाउँदै लगेको छ। पछिल्ला खेलमा उत्कृष्ट खेल प्रस्तुत गर्दै आएको सिटी पछिल्ला ६ खेलमा अपरजित छ। जहाँ आर्सनलले २ खेल गुमाएको थियो।  

सिटीले अब १३ मेमा क्रिष्टल प्यालेस, १९ मेमा बर्नमाउथ र सिजनको आफ्नो अन्तिम खेलमा २४ मेमा एष्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछ। सन् २०११/०१२ को सिजन पहिलो पटक उपाधि जितेको सिटीले सोपछि ६ पटक ट्रफीमा आफ्नो नाम लेखाइसकेको छ। २०१७/०१८ को सिजनपछि सिटी विपक्षी टिममाथि मैदानमा एकलौटी दबाब प्रस्तुत गरिरहेको छ। 

यो सिजन बर्नली र वेल्भरह्याप्टन वन्डर्स रेलिगेशनमा परिसकेका छन्। तेस्रो टिमको टु‌गो लाग्न बाँकी छ। १८‍औं स्थानमा ३६ अंकसहित वेष्टहाम छ। 

यो अवस्थामा आर्सनललाई २२ वर्षपछि उपाधि जित्न बाँकी तीनै खेलमा जितको बिकल्प छैन। एक हारले मात्र पनि सिटीलाई उपाधि यात्रा सहज बनाइदिन सक्नेछ।  

प्रकाशित: २७ वैशाख २०८३ १७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App