९ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

अर्जुन साउदलाई सर्वाधिक १५ लाख, चितवन राइनोजमा अनुबन्धन

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि जारी खेलाडी लिलामी (अक्सन) मा फ्रेन्चाइज टोलीहरूबीच चर्को प्रतिस्पर्धा देखिएको छ।

राष्ट्रिय टोलीका विकेटकिपर ब्याटर अर्जुन साउदलाई चितवन राइनोजले सर्वाधिक १५ लाख रुपैयाँमा अनुबन्ध गर्दा तीव्र गतिका बलर हेमन्त धामीका लागि चार टोलीबीच गोलाप्रथा गर्नुपरेको थियो।

देव खनाललाई १५ लाखमा भित्र्याइसकेको चितवनले श्रेणी ‘ए’ का अर्का खेलाडी अर्जुन साउदलाई पनि सोही मूल्यमा अनुबन्ध गरेको हो। साउदलाई किन्न कर्णाली यल्लो डट्स र विराटनगर किंग्सले पनि अधिकतम बोली लगाएपछि नतिजा गोलाप्रथाबाट टुङ्ग्याइएको थियो। जसमा चितवन भाग्यमानी सावित भयो।

अक्सनको अर्को रोमाञ्चक क्षणमा सुदूरपश्चिम रोयल्सले आफ्नै घरेलु स्टार, तीव्र गतिका बलर हेमन्त धामीलाई अनुबन्ध गर्न सफल भएको छ। श्रेणी ‘बी’ मा रहेका हेमन्तलाई अधिकतम १० लाख रुपैयाँमा चार टोलीले बोली लगाएका थिए। अन्ततः गोलाप्रथामा सुदूरपश्चिमले बाजी मार्दै उनलाई टोलीमा सुरक्षित गर्‍यो।

विराटनगर किंग्स अक्सनमा निकै सक्रिय देखियो। उसले बायाँ हाते स्पिनर सूर्य तामाङलाई १० लाख रुपैयाँ तथा यू-१९ राष्ट्रिय टोलीका ब्याटर साहिल पटेललाई ५ लाख रुपैयाँमा खरिद गरेको छ।

यस्तै, काठमाडौं गुर्खाजले स्थानीय विकेटकिपर उत्तम रंगु थापा मगरलाई ३ लाख रुपैयाँमा टोलीमा भित्र्याएको छ।

जनकपुर बोल्ट्सले युवा स्पिनर सचिन भट्टलाई २ लाखमा अनुबन्ध गर्दा सुदूरपश्चिम रोयल्सले अर्का स्थानीय खेलाडी टेक रावतलाई पनि २ लाख रुपैयाँमै खरिद गरेको छ।

प्रकाशित: २४ श्रावण २०८२ १७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App