नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू– २० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपालले भुटानविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो ।
नेपाललाई जित दिलाउन सुजन डंगोल र सुवास बमले १–१ गोल गरे । भुटानका लागि घेन्डुप ग्याल्टसेनले १ गोल फर्काए ।
खेलको पाँचौँ मिनेटमा सुजनको गोलमार्फत नेपालले अग्रता लिएको थियो । आफ्नै टोलीका खेलाडीले दिएको ब्याक पासलाई भुटानी गोलकिपर तानदिन पेन्जोरले समातेपछि नेपालले ‘इनडाइरेक्ट फ्रिकक’ पाएको थियो । उक्त अवसरमा जोन विष्टले दिएको ब्याक पासलाई सुजनले पोस्टको दिशा दिए ।
सुवासले ५२औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । उनले बक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो । ग्याल्टसेनले ८३औँ मिनेटमा गोल गर्दै भुटानलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल हुन सकेन । जितसँगै समूह ‘ए’ को नेपालले ३ अंक जोडेको छ ।
प्रकाशित: ९ चैत्र २०८२ १९:३४ सोमबार





