खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निर्माणाधीन आधारभूत अस्पताल भवनको काम लामो समयदेखि अलपत्र परेपछि मेयर विमला राईले ठेकेदार कम्पनीको गाडी नियन्त्रणमा लिएकी छन्। निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरी ढिलाइ गरेपछि मेयरले कडा कदम चाल्दै गाडीको चाबी र कागजात नियन्त्रणमा लिएर स्थानीय प्रहरीलाई जिम्मा दिएकी हुन्।
उक्त अस्पताल भवन निर्माण २०७८ सालमै सम्पन्न गर्ने लक्ष्यका साथ सम्झौता भए पनि दुई वर्ष बित्दा समेत काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। हालसम्म भवनको जगसम्म मात्रै निर्माण भएको छ। नगरपालिकाले पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि ठेकेदार सम्पर्कमा नआएपछि यस्तो निर्णय लिनुपरेको मेयर राईले बताएकी छन्।
गाडी नियन्त्रणमा लिएपछि ठेकेदार पक्षलाई लिखित प्रतिबद्धता गराइएको छ, जसअनुसार चैत १२ गतेदेखि काम पुनः सुरु गरी निश्चित समयभित्र विभिन्न चरणको निर्माण सम्पन्न गर्ने उल्लेख छ। प्रतिबद्धता पूरा नगरे कानुनी कारबाही भोग्न तयार रहने समेत जनाइएको छ।
करिब १६ करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा ठूलो रकम भुक्तानी भइसके पनि काम रोकिँदा स्थानीयवासी निराश भएका छन्।
प्रकाशित: ९ चैत्र २०८२ १९:१० सोमबार





