९ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

मोटरसाइकल चोरीबाट जोगाउन ट्राफिकका सात सुझाव

सवारी जाँचमा ट्राफिक प्रहरी । फाइल तस्बिर

पछिल्लो समय काठमाडौं उपत्यका तथा देशका विभिन्न ठाउँबाट दुई पांग्रे सवारी मोटरसाइकल तथा स्कूटर हराउने क्रम बढेको छ । सवारी साधन हराएपछि प्रहरी कहाँ उजुरी पनि बढेको छ ।  

उजुरी आएपछिका खोजतलासका क्रममा मोटरसाइकल केही मोटरसाइकल भेटिएपनि धेरै लामो समयसम्म हराएकै सूचीमा रहन्छन् । यसरी मोटरसाइल चोरीका घटना बढ्न थालेपछि सावधानी अपनाउन ट्राफिक प्रहरीले सवारी धनीलाई आग्रह गर्दै आएको छ ।  

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेश राज सुवेदीले चोरी हुनबाट सवारी साधनलाई जोगाउन विभिन्न सात टिप्स दिएका छन् । सुवेदीका टिप्स तपाईंको सवारी चोरी हुनबाट जोगाउन उपयोगी हुनेछन् ।

यस्ता छन् सात टिप्स:

१) सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने,  

२) ह्विल लक गर्ने

३) चेन लक गर्ने

४) ह्यान्डिल लक गर्ने

५) डिस्क लक गर्ने

६) सुरक्षा साइरन जडान गर्ने

७) मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्ने ।

हराएमा के गर्ने ?

सवारी चोरी हुनबाट जोगाउने सचेतता सबैभन्दा उत्तम हो । तर सवारी हराएका सवारी साधन प्रहरीले खोजतलास गर्ने गरेको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए पनि सवारी धनी स्वयम् सजग हुनुपर्ने सुझाव प्रहरीको छ । सबैभन्दा ठूलो सुरक्षा र ध्यानदिनुपर्ने उपाय सुरक्षित स्थानमा पार्किङ भएको प्रहरी उपरीक्षक सुवेदीले बताए ।  

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न पनि उनले सुझाएका छन् । त्यसपछि नजिकैको प्रहरी कार्यालयमा गएर सवारी हराएको निवेदन दिन सुवेदीले आग्रह गरेका छन् ।  

बाइपासमा भेटियो चोरीको बाइक

हराएको मोटरसाइकल नम्बर परिवर्तन गरी चलाएको अवस्थामा फेला परेको छ । काठमाडौं महानगरपालिका १६ बाईपासबाट सोमबार चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  

नुवाकोटको ककनी गाउँपालिका-१ घर भई हाल काठमाडौंको लोलाङ बस्ने २० वर्षीय निखिल बलामीलाई चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो ।  

बागमती प्रदेश ०२-०२८ प ८४०८ नम्बरको मोटरसाइकल नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०३९ प ९४५४ नम्बर राखी चलाइरहेको अवस्थामा बाईपास सडकखण्डमा फेला परेका बलामीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।  

बरामद भएको मोटरसाइकल ललितपुरको गोदावरी नगरपालिका-१० बोहोराटार बस्ने जयराम केसीले बोहोराटारबाट हराएको भन्दै खोजतलास गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।  

मोटरसाइकलसहित नियन्त्रणमा आएका बलामीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त चापागाउँ पठाइएको सुवेदीले बताए।

प्रकाशित: ९ चैत्र २०८२ २०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App