विभागीय दुई टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले शुक्रबार २१औं महिला तथा २५औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि हात पारेका छन्। महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी पहिलो भएका हुन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न महिलातर्फको फाइनलमा एपिएफले आर्मीलाई २४–२० अंकमा हरायो।
पुरुषको फाइनलमा आर्मीले एपिएफलाई पेनाल्टीमा ६–५ अंकले पराजित गर्यो। निर्धारित समयको खेल ३८–३८ अंकमा सकिएको थियो।
महिलातर्फ एपिएफकी रविना चौधरी उत्कृष्ट खेलाडी घोषित भइन्। पुरुषतर्फ भने आर्मीका गणेश पार्की उत्कृष्ट खेलाडी घोषित भए। विजेतालाई गृहमन्त्री ओमप्रकाश अर्याल र राखेपका सदस्यसचिव रामचरित्र मेहता, आयोजक अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापालगायतले पुरस्कार प्रदान गरे।
प्रकाशित: १७ माघ २०८२ ०८:२७ शनिबार





