२ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

एन्फा यु–१६ युथ लिग : बराबरीसँगै चर्च ब्वाइजले चौथो स्थानमा उक्लिने अवसर गुमायो

अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज युनाइटेड क्लबले जारी एन्फा यु–१६ युथ लिगमा सोमबार न्युरोड कर्नर टिम (एनआरटी) सँग अंक बाँडेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो खेलमा चर्च ब्वाइज एनआरटीसँग १–१ को बराबरीमा रोकिएको हो । एनआरटीका निरञ्जन दुलालले गोल फर्काएका हुन् । अर्को गोल आत्मघाती भएको हो । अग्रता जोगाउन नसक्दा चर्च ब्वाइजले अंक बाँड्नुपरेको हो । बराबरीको नतिजासँगै चर्च ब्वाइजले चौथो स्थानमा उक्लिने अवसर गुमाउन पुग्यो । १३ खेलबाट चर्च ब्वाइज २४ अंकसहित चौथो स्थानमा छ । जुन शीर्ष स्थानको नेपाल पुलिस क्लबभन्दा १० अंक, दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबभन्दा चार अंक र तेस्रो स्थानको मच्छिन्द्र क्लबभन्दा तीन अंकले पछि छ ।  

यता, चर्च ब्वाइजसँग अंक बाँडेको एनआरटी १३ खेलबाट १३ अंक जोड्दै ११औं स्थानमा यथावत् नै छ । एनआरटीले जारी लिगमा तीन जित, चार बराबरीको नतिजा सामना गर्दा ६ खेलमा भने हार बेहोरेको छ । चर्च ब्वाइजले भने सात जित, तीन बराबरी र तीन हारको नतिजा सामना गरेको छ । खेलको १६औं मिनेटमा नै आत्मघाती गोलबाट चर्च ब्वाइजले अग्रता लिएको थियो । पेनाल्टी बक्सबाट सुशान थापा मगरले दिएको बललाई क्लियर गर्ने प्रयासमा अनमोल सुवेदी आफ्नै पोस्टमा गोल गर्न पुगे । त्यसपछि एनआरटीले खेलमा फर्कने प्रयास ग¥यो । जुन, २७औं मिनेटमा मात्र सफल भयो ।  

निरञ्जनले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए । चर्च ब्वाइजका डिफेन्डरको गल्तीमा फाइदा उठाउँदै एनआरटीले गोल गरेको हो । मध्यभागबाट आएको बललाई चर्च ब्वाइजका डिफेन्डर दोर्जे तामाङ र संयोग लामाबीच तालमेल नहुँदा क्लियर हुन सकेन । सोही बल नियन्त्रणमा लिँदै निरञ्जनले यी दुईको बीचबाट गोल गरेका हुन् । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन । दोस्रो हाफमा पनि दुवै तर्पmबाट गोलका लागि प्रयास भए । तर, गोल निस्किएन र खेल १–१ को बराबरीमा नै सकियो । यससँगै सोमबारका दुवै खेलको नतिजा बराबरीमा नै टुङ्गिन पुग्यो ।

यसअघि दिनको पहिलो खेलमा मच्छिन्द्र र फ्रेन्ड्सले गोलरहित बराबरीको नतिजा सामना गरेका थिए । यो बराबरीसँगै मच्छिन्द्रले दोस्रो स्थानमा उक्लिने र शीर्ष स्थानको पुलिससँग अंकदूरी घटाउने अवसर पनि गुमाउन पुग्यो । पाँचौं स्थानको फ्रेन्ड्सले पनि दोस्रो बराबरीकै नतिजा सामना गरेपछि दोस्रो स्थानमा उक्लिने अवसर गुमायो । समान १३ खेलबाट मच्छिन्द्रको २८ अंक छ भने फ्रेन्ड्स २६ अंकसहित पाँचौं स्थानमा छ । मच्छिन्द्रको यो तेस्रो बराबरी हो । त्यसबाहेक मच्छिन्द्रले आठ जित र दुई हारको नतिजा सामना गरेको छ । फ्रेन्ड्सले पनि आठ जित, दुई बराबरी र तीन हार सामना गरेको छ ।

प्रकाशित: २६ श्रावण २०८२ २०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App