२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

एन्फा राष्ट्रिय लिग : अपराजित दुई टोलीको बराबरी

अपराजित दुई टोली मच्छिन्द्र क्लब र लालीगुराँस एसोसिएसनले गोलरहित बराबरी खेलेको दिन राष्ट्रिय लिगमा चित्लाङ एफसी र सातदोबाटो युथ क्लबले पनि अंक बाँडेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको पहिलो खेलमा अनुभवी खेलाडीले भरिएको सातदोबाटो युथ चित्लाङ एफसीसँग गोलरहित बराबरीमा रोकिएको हो। नेपालको घरेलु लिगमा लामो समयदेखि खेलिसकेका जगजित श्रेष्ठसँगै कुलदीप कार्की, समीर तामाङ र सुरजज्यू ठकुरीजस्ता स्टार खेलाडीको साथ पाएको सातदोबाटो युथ चित्लाङसँग गोलरहित बराबरीमा रोकिन पुग्यो। एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएर राष्ट्रिय लिग खेलिरहेको चित्लाङमा स्टार खेलाडी छैनन्। यद्यपि, चित्लाङले सन्तोषजनक नै प्रदर्शन गरिरहेको छ। पहिलो खेलमा जित निकाल्दै राष्ट्रिय लिगको यात्रा सुरु गरेको चित्लाङले त्यसपछि विजयायात्रा जारी राख्न सकेन।

दुई हार सामना गरिसकेको चित्ताङले दोस्रो बराबरीको नतिजा सामना गरेको छ। अघिल्लो खेलमा चित्लाङले शीर्ष स्थानको मच्छिन्द्रसँग २–१ को हार बेहोरेको थियो। उक्त खेलमा चित्लाङको गोलपोस्ट समालेका चन्द्रसुन्दर श्रेष्ठ अनुसन्धानमा रहेकाले निलम्बनमा परेका छन्। अघिल्लो खेलमा मच्छिन्द्रले गोल गर्ने क्रममा गोलकिपर चन्द्रसुन्दरको पोजिसनबारे आशंका गरेपछि उनीमाथि अनुसन्धान अगाडि बढाइएको हो। अनुसन्धान पूरा नभएसम्म उनले राष्ट्रिय लिगको खेल गुमाउने एन्फाले जनाएको छ। सोमबार सातदोबाटोसँगको खेलमा उनको नाम प्लेइङ लिस्टमा समावेश थिएन। 

उनको स्थानमा सन्तोष महतले जिम्मेवारी समालेका थिए। उनी खेलमा क्लिन सिट राख्न पनि सफल भए। सातदोबाटोले पाँच खेलबाट ५ अंक जोडेको छ। समान खेलमा चित्लाङको पनि समान ५ अंक रहेको छ। तर, गोलअन्तरको आधारमा सातदोबाटो नवौं र चित्लाङ ११औं स्थानमा छन्। दुवै टोलीले राम्रो अवसर बनाए पनि गोल गर्नबाट चुके। खेलको २२औं मिनेटमा सातदोबाटोले अवसर बुनेको थियो। तर, युवा स्टार समीर तामाङको प्रहार दिशामा रहन सकेन। ३३औं मिनेटमा सातदोबाटोका बोबिरसोह सोबिरोभको सट पनि सफल भएन। यससँगै पहिलो हाफ गोलरहित बराबरीमा सकियो।

४७औं मिनेटमा सातदोबाटोका जगजितको क्रसमा फोडे फोफानाको हेडर गोलपोस्टको माथिबाट बाहिरियो। ७३औं मिनेटमा मिनेटमा सातदोबाटोको फोडे फोफानाको पासमा जगजितले फितलो प्रहार गरेपछि गोल हुन सकेन। त्यसपछि बाँकी समयमा पनि गोल नभएपछि खेल बराबरीमा नै सकियो। एन्फा कम्प्लेक्स मैदानमा नै भएको खेलमा शीर्ष स्थानको मच्छिन्द्रले लालीगुराँस एसोसिएसनसँग बराबरीको नतिजामा चित्त बुझायो। दुवै टोलीले राम्रो अवसर सिर्जना गरेका थिए। मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठ र लालीगुराँसका कुम्ब देउवाले उत्कृष्ट बचाउ पनि गरे।

दुवै टोली गोल गर्न असफल भएपछि मच्छिन्द्रको विजययात्रा पाँचौं खेलमा पूर्णविराम लाग्यो। मच्छिन्द्रका एलिजोन एलिजोनोभ प्लेअर अफ दी म्याच भए। लिगमा पाँच खेलबाट १२ अंक जोड्दै मच्छिन्द्र शीर्ष स्थानमा यथावत् छ। समान खेलबाट लालीगुराँस ११ अंक जोड्दै पाँचौं स्थानमा यथावत् छ। लालीगुराँसको लगातार दोस्रो बराबरी हो। यसअघि लालीगुराँस त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरीमा नै सकिएको थियो। लगातार दोस्रो खेलमा लालीगुराँस गोल गर्न असफल भयो। 

प्रकाशित: २० माघ २०८२ ०७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App