दुई पल्टसम्म अग्रता जोगाउन नसक्दा विभागीय टोली एपिएफले राष्ट्रिय लिगमा शीर्ष स्थानका लागि अंकको दूरी बढाउने अवसर गुमाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको दोस्रो खेलमा एपिएफले विभागीय डर्बीमा नेपाल पुलिस क्लबसँग २–२ गोलको बराबरी नतिजा सामना ग¥यो । यस क्रममा शीर्ष स्थानको एपिएफ दुई पल्टको अग्रता जोगाउन असफल भयो। शनिबार नै भएको अन्तिम खेलमा मच्छिन्द्र क्लब पनि शीर्षता होडमा चुनौती दिन चुक्यो । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्र चर्च ब्वाइज युनाइटेडसँग १–० ले पराजित भयो। अबायोमी ओलुवासेम फाकुन्लेको एक गोल नै चर्च ब्वाइजलाई तीन अंक दिलाउन पर्याप्त भयो । उनी प्लेअर अफ दी म्याच पनि भए । यो जितपछि चर्च ब्वाइजले सात खेलबाट १४ अंक जोड्यो।
जितका बाबजुद चर्च ब्वाइज सातौं स्थानमा यथावत् छ। एक खेल कम खेलेको चर्च ब्वाइज शीर्ष स्थानको एपिएफभन्दा ६ अंकले पछि छ। यता, हारपछि मच्छिन्द्रले दोस्रो स्थानको लालीगुराँस एसोसिएसनसँग अंक बराबरी गर्ने अवसर गुमायो। सात खेलबाट मच्छिन्द्रको १६ अंक र आठ खेलबाट लालीगुराँसको १९ अंक छ। यद्यपि, मच्छिन्द्रसँग शीर्ष टोलीविरुद्ध अंक दूरी घटाउन एक खेल बाँकी छ। त्यसअघि एपिएफले भने शीर्ष स्थानका लागि अंक दूरी बढाउने अवसर सदुपयोग गर्न सकेन। एपिएफको दुवै गोल प्रदीप लामाले गरे। पुलिसका शिशिर लेखी र ओशेन्द्र कटुवालले गोल फर्काए। यो बराबरीका बावजुद एपिएफ आठ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा यथावत् छ।
जारी लिगमा अपराजित एपिएफको यो दोस्रो बराबरी हो। समान खेलबाट पुलिस ८ अंकसहित दशौं स्थानमा उक्लिएको छ। पुलिसलाई अंक दिलाउन कप्तान रामचन्द्र वाजीले उत्कृष्ट प्रदर्शन गरे। पुलिसको दुवै गोलमा उनको असिस्ट रह्यो। पहिलो हाफमा दुई गोल भए। दोस्रो हाफमा पनि समान दुई गोल नै निस्कियो। एपिएफले खेलको दशौं मिनेटमा नै अग्रता लिएको थियो। करिब २० यार्डबाट प्रदीप लामाले गरेको सशक्त प्रहार दोस्रो बारको टप कर्नर हुँदै जाली चुम्न पुग्यो। २७औं मिनेटमा शिशिर चौधरीले पुलिसलाई खेलमा फर्काए। २५ यार्डबाट कप्तान रामचन्द्रको फ्रिकिक बललाई शिशिरले हेडरमार्फत जाली चुमाए।
त्यसपछि पहिलो हाफमा थप गोल निस्किएन । पहिलो हाफको नतिजा १–१ को बराबरीमा रह्यो। दोस्रो हाफमा एपिएफले सुरुआती अग्रता लियो तर एपिएफले फेरि अग्रता जोगाउन सकेन। ६१औं मिनेटमा प्रदीपकै गोलबाट एपिएफले अग्रता लिएको । पुलिसका गोलकिपर अमित टमटा र डिफेन्डर दशरथ गिरीबीच तालमेल अभाव हुँदा एपिएफले त्यसको फाइदा लिएको हो।
राइट साइडबाट समीराज थोकरको क्रसमा पुलिसका गोलकिपर अमित र डिफेन्डर दशरथ बल क्लियर गर्ने क्रममा ठोकिन पुगे। पेनाल्टी बक्सभित्र अनमार्क प्रदीपले उक्त बललाई खाली पोस्टमा जाली चुमाएका हुन्।
चार मिनेटपछि एपिएफका कप्तान युवराज खड्काले अग्रता बढाउने असर गुमाए। उनी पुलिसका गोलकिपर अमितसँग वान भर्सेस वानको स्थितिमा चिप्लन पुगे। ८८औं मिनेटमा गोल फर्काउँदै बराबरी गर्यो। नजिकै दूरीबाट ओशेन्द्र वान टच गर्दै बललाई जाली चुमाएका हुन्। कप्तान रामचन्द्रकै पासलाई आशेन्द्रले सदूपयोग गरेका हुन्। यसपछि दुवै तर्फबाट गोलका लागि प्रयास भए तर सफल हुन सकेनन् र विभागीय डर्बी २–२ को बराबरीमा नै सकियो।
सुजनको ह्याट्रिक
सुजन डंगोलको ह्याट्रिकसँगै श्री भगवती क्लबले जारी एन्फा राष्ट्रिय लिगमा दोस्रो जित निकालेको छ। दशरथ रंगशालामा नै शनिबार भएको पहिलो खेलमा सुजनले ह्याटिङ गरेपछि भगवतीले काँक्रेविहार क्लबमाथि ६–० को गोलवर्षा गरेको हो।
दिवस उराउ, सुरज गुरुङ र शिशिर लेखीले समान एक गोल थपे। आठ खेलमा भगवतीको यो दोस्रो जित हो। भगवती आठ अंकसहित नवौं स्थानमा उक्लिएको छ। सुर्खेतको टोली काँक्रेविहारको भने यो सातौं हार हो। समान खेलबाट जितविहीन काँक्रेविहारको एक अंक छ। श्री भगवतीले पहिलो हाफमा दुई गोल गर्यो। दोस्रो हाफमा थप आक्रामक बनेको श्री भगवतीले चार गोल थप्यो। श्री भगवतीले खेलको २६औं मिनेटमा दिवसको गोलबाट अग्रता लियो। ३७औं मिनेटमा सुरज गुरुङले गोल गर्दै भगवतीको अग्रता दोब्बर बनाए। ४३औं मिनेटमा भगवतीका अजित लामाले गरेको लामो प्रहारलाई काँक्रेबिहारका गोलकिपर प्रतिक सुनारले उत्कृष्ट बचाउ गरे।
पहिलो हाफमा श्री भगवती २–० ले अगाडि रह्यो। ६९औं मिनेटमा कप्तान शिशिरले गोल गर्दै भगवतीलाई ३–० को स्थिति पुर्याए। सुजनले सात मिनेटभित्र ह्याट्रिक पूरा गरेका हुन्। ८७औं मिनेटमा सुजनले उत्कृष्ट गोल गर्दै भगवतीलाई सहज स्थितिमा पुर्याए। त्यसको दुई मिनेटपछि सुजनले व्यक्तिगत दोस्रो गोल गरे। इन्जुरी समयमा सुजनले ह्याट्रिक पूरा गरे। यससँगै भगवतीले लिगमा विशाल जित निकालेको हो।
प्रकाशित: १७ फाल्गुन २०८२ ०८:२० आइतबार





