विभागीय टोली एपिएफ र न्युरोड टिम (एनआरटी) ले तेस्रो जित निकाल्दै जारी राष्ट्रिय लिगमा शीर्ष स्थानको होडमा दाबेदारी दिएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा एपिएफले संकटामाथि २–१ को जित निकाल्दा एनआरटीले पनि फ्रेन्ड्सलाई १–० को अन्तरमा हराएको हो। एपिएफको जितमा प्रदीप लामा र युवराज खत्रीले समान एक गोल गरे।
संकटाका गणेश हमालले गोल फर्काए पनि हार टार्न पर्याप्त भएन। अर्को खेलमा आशिष गुरुङले गरेको एक मात्र गोल एनआरटीलाई तेस्रो जित दिलाउन पर्याप्त बन्यो। चौथो खेलमा एनआरटीले तेस्रो जित निकालेको हो। एनआरटीले मच्छिन्द्रविरुद्ध हारसँगै राष्ट्रिय लिगको यात्रा सुरु गरेको थियो तर त्यसपछिका तीन खेलमा लगातार जित निकाल्दै एनआरटी अंकतालिकाको शीर्षता होडमा आएको छ।
एनआरटीले यसअघि सातदोबाटो युथ क्लबलाई ३–१ र काँक्रे बिहार क्लबलाई २–० ले हराएको थियो। तेस्रो खेलमा पनि एनआरटीले जित लयलाई कायमै राख्यो। एनआरटीका आशिष गुरुङ प्लेअर अफ दी म्याच भए। खेलको पहिलो हाफ गोलरहित बराबरीमा नै सकियो तर दोस्रो हाफमा एनआरटीले गोल गर्यो। ६७औं मिनेटमा आशिषको गोलबाट एनआरटीले अग्रता लियो तर त्यसपछि फ्रेन्ड्सले गोल फर्काउन सकेन र एनआरटीले साँघुरो जित निकाल्यो। फ्रेन्ड्सले भने चौथो खेलमा दोस्रो हार सामना गर्यो। काँक्रे बिहारलाई हराउँदै फ्रेन्ड्सले सुखद सुरुआत गरेको थियो। तर, फ्रेन्ड्सले दोस्रो खेलमा एपिएफसँग १–० को हार बेहोर्दा तेस्रो खेलमा पनि संकटासँग अंक बाँड्यो।
चौथो खेलमा पनि फ्रेन्ड्सले नतिजा सुम्पिन पुग्यो। विभागीय टोली एपिएफले पनि आइतबार जित निकाल्दै लिगमा उत्कृष्ट लय जारी राखेको छ। यसअघि एपिएफले पहिलो खेलमा फ्रेन्ड्सलाई १–० र दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेडलाई ४–१ ले हराएको थियो। तेस्रो खेलमा पनि विभागीय टोलीले संकटामाथि जित निकाल्दै आफ्नो विजययात्रा चौथो खेलसम्म कायमै राखेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा एक गोल र दोस्रो हाफमा दुई गोल भए। २९औं मिनेटमा प्रदीप लामाको गोलबाट एपिएफले अग्रता लियो। पहिलो हाफसम्म एपिएफ १–० ले अगाडि रह्यो। ५१औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाए।
निर्धारित समय सकिन ९ मिनेट बाँकी रहँदा संकटाले खेलमा फर्कने प्रयास ग¥यो। गणेशको गोलबाट संकटाले अग्रता २–१ मा छोट्यायो। तर, त्यसपछिको बाँकी समयमा संकटाले गोल फर्काउन सकेन। एपिएफले साँघुरो जित निकाल्यो। तीन खेलबाट एपिएफले ९ अंक बटुल्यो। संकटाको चौथो खेलमा पहिलो हार हो।
यसअघि संकटाले दुई बराबरी र एक जित निकालेको छ। शीर्ष स्थानको लालीगुँरास युवा क्लबको पनि ९ अंक नै छ। लालीगुराँस, मच्छिन्द्र, एपिएफ र एनआरटी गरी चार टोलीको समान ९ अंक भएको छ। तर, एपिएफ, मच्छिन्द्र र लालीगुराँसले मात्र शतप्रतिशत जित निकालेका हुन्।
प्रकाशित: १२ माघ २०८२ ०८:०९ सोमबार





