९ पुस २०८२ बुधबार
image/svg+xml
खेल

लिग-२ को पकड जमाउँदै अमेरिका

अमेरिकाले आइसिसी विश्वकप लिग टु (२०२४/०२६) को २२ खेलमा १६औं जित निकाल्दै शीर्ष चारको दाबेदारी बलियो बनाएको छ।

विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) मा भएको त्रिदेशीय शृंखलामा अमेरिकाले मंगलबार घरेलु टोलीमाथि चार विकेटले जित निकाल्यो। यससँगै शीर्ष स्थानको अमेरिकाले २२ खेलमा १६ जित आत्मसात गरेको छ।

आइसिसी विश्वकप लिग–२ (२०२४/०२६) को साइकलमा हरेक टोलीले तीन होम र ६ वटा अवे शृंखला खेल्नेछन्। एउटा शृंखलामा चार खेल गरी राष्ट्रले कुल ३६ खेल खेल्ने प्रावधान छ। लिग–२ को साइकल पूरा भएपछि शीर्ष चार स्थानमा रहने टोलीले आइसिसी विश्वकप क्वालिफायर २०२७ मा स्थान बनाउनेछन्। पछिल्लो संस्करण शीर्ष तीन स्थानमा रहेर नेपालले विश्वकप छनोट (एकदिवसीय) खेलेको थियो।

यसपल्ट भने नेपालले निकै कमजोर प्रदर्शन गरेको छ। नेपाल नै सम्मिलित युएईमा जारी शृंखलामा अमेरिकाले भने लगातार दोस्रो जित निकालेको छ। शृंखलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको फराकिलो जित निकालेका थियो।

दोस्रो खेलमा पनि अमेरिकाले घरेलु टोलीमाथि चार विकेटले जित निकाल्दै लिग–२ को शीर्ष स्थानका लागि अग्रता बढाएको छ। यो जितपछि अमेरिकाले चौथो स्थानमा रहेको ओमानसँग नै आठ अंकको दूरी बढाएको छ। यद्यपि, ओमानले अमेरिकाभन्दा दुई खेल कम खेलेको छ। जारी लिग–२ मा १४ खेल बाँकी छँदा अमेरिकाले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष चारको दाबेदारी प्रस्तुत गरेको हो।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर अमेरिकाले पहिले फिल्डिङ गर्ने निर्णय गर्‍यो। कमजोरी ब्याटिङ गरेको युएईले दुई सय १२ रनको सामान्य लक्ष्य दियो। अमेरिकाले पनि त्यो लक्ष्य पछ्याउने क्रममा निकै संघर्ष गर्‍यो तर अमेरिकाले ४९.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।

अमेरिकाले ओपनरद्वयसँगै तीन ब्याटरलाई सस्तैमा गुमाएपछि दबाब बेहोर्‍यो। ओपनरद्वय समित पटेल शून्यमा र आन्द्रेस गौस १ रनमा आउट भए। त्यसपछि साइतेजा मुकामाला ८ रनमै पभेलियन फर्किए तर त्यसपछि आएका ब्याटरले समालिएर ब्याटिङ गरे र जित दिलाए। कप्तान मोनान्क पटेलले ५० रन र मिलिन्द कुमारले ७१ रनको अर्धशतक प्रहार गर्दै इनिङ उकासे।

युवा ब्याटर शुभम रन्जानले ४६ रन र हर्मित सिंहले १४ रनको अविजित इनिङ खेल्दै जित दिलाए। सात बलर प्रयोग गरेको युएईले कसिलो बलिङ गरे पनि हार टार्न भने सकेन। त्यसअघि युएईले निर्धारित ओभर नै खेले पनि ९ विकेटको क्षतिमा दुई सय ११ रन बनायो। युएईको पनि सुरुआत राम्रो हुन सकेन।

दोस्रो ओभरमै ओपनरद्वय अलिसान सरफु र आर्यन शर्मालाई समान एक रनमा नै गुमाउन पुग्यो। यद्यपि, त्यस पछिका ब्याटरले सुस्त ब्याटिङ गर्दै इनिङ उकास्ने प्रयास गरे। युएइका मध्य क्रमका ब्याटर हर्षित कौसिक ५३ रन जोडे। यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। उनले चार छक्का र एक चौका प्रहार गरे। कप्तान राहुल चोप्राले ३६ रन र मुहम्मद साहदाबले ३६ रनको योगदान दिए।

सोएब खानले १७ र मुहम्मद वासिमले २१ रन जोडेपछि युएईले सय रनको आकडा पार गरेको थियो तर त्यो जितका लागि पर्याप्त भएन। अमेरिकाको बलिङमा सौरभ नेत्राभाल्करले सर्वाधिक तीन विकेट लिए। जसदीप सिंह र रन्जानेले समान दुई विकेट लिँदा रुसिल उगारकरले एक विकेट निकाले।

अमेरिकाले ६ जना प्रयोग गर्दै कसिलो बलिङ गर्‍यो। यससँगै युएईले जारी लिग–२ मा १७औं खेलबाट १४औं हार सामना गरेको छ। लिगको पुछारमा रहेको युएईको ६ अंक मात्र छ। जुन पुछारबाट दोस्रो स्थानमा रहेको नेपालभन्दा ६ अंकले कम हो। नेपाल र युएई आगामी बिहीबार प्रतिस्पर्धा हुँदै छ। दुवै टोली यो जित निकाल्ने लक्ष्यमा हुनेछ।  

प्रकाशित: १२ कार्तिक २०८२ ०९:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App