स्पेनिस टेनिस स्टार कार्लोस अल्काराज चार महिनाभन्दा लामो समयपछि प्रतिस्पर्धात्मक टेनिसमा फर्किने भएका छन्। नाडीको चोटका कारण लामो समय कोर्टबाहिर रहेका अल्काराजले आगामी यूएस ओपनबाट पुनरागमन गर्ने पुष्टि गरेका छन्।
सात पटकका ग्रान्डस्लाम विजेता अल्काराजले अगस्ट ३० देखि सेप्टेम्बर १३ सम्म हुने प्रतियोगितामा सहभागिता जनाउने बताएका हुन्। उनले न्युयोर्कमा आफ्नो उपाधि रक्षा गर्ने लक्ष्य राखेका छन्।अल्काराजले यसअघि अप्रिलमा बार्सिलोना ओपनबाट नाम फिर्ता लिएका थिए। त्यसपछि उनले फ्रेन्च ओपन, विम्बल्डन तथा टोरन्टो र सिनसिनाटीमा भएका उत्तर अमेरिकी हार्ड कोर्ट प्रतियोगितासमेत गुमाए।
उनले सुरुआतमा गत वर्ष उपाधि जितेको सिनसिनाटीबाट पुनरागमन गर्ने योजना बनाएका थिए। तर नाडीको चोट पूर्ण रूपमा निको हुन थप समय आवश्यक देखिएपछि उनले पुनरागमन केही पर सारेका हुन्। पछिल्ला केही सातामा उनले अभ्यासको मात्रा क्रमशः बढाउँदै लगेका छन्। मर्सियामा डेनमार्कका होल्गर रुनेसँग उच्च तीव्रताको अभ्यास गर्दै उनले चोटको अवस्था परीक्षण गरेका थिए।
न्युयोर्क अल्काराजका लागि विशेष महत्त्वको स्थान हो। उनले सन् २०२२ मा फ्लसिङ मेडोजमा पहिलो ग्रान्डस्लाम उपाधि जितेका थिए। त्यही सफलतासँगै उनी एटीपी वरीयतामा विश्व नम्बर एक बन्ने सबैभन्दा कम उमेरका खेलाडीसमेत बनेका थिए।
गत जनवरीमा अस्ट्रेलियन ओपन जित्दै अल्काराजले २२ वर्षको उमेरमै करियर ग्रान्डस्लाम पूरा गर्ने सबैभन्दा कम उमेरका पुरुष खेलाडीको कीर्तिमानसमेत बनाएका थिए। त्यसपछि उनले फेब्रुअरीमा दोहामा एटीपी हार्ड कोर्ट उपाधि जितेका थिए।
तर बार्सिलोना ओपनबाट नाम फिर्ता लिएपछि उनले म्याड्रिड र रोमका प्रतियोगिता पनि गुमाए। त्यसपछि फ्रेन्च ओपनबाट समेत बाहिरिएका अल्काराज अब लामो विश्रामपछि यूएस ओपनमार्फत पुनः उच्चस्तरीय टेनिसमा फर्कने तयारीमा छन्। न्युयोर्कमा हुने यूएस ओपनमा उनको पुनरागमनले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित: ५ भाद्र २०८३ १०:२९ शुक्रबार





