बिहीबार रातभरको वर्षाले कालिकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ। बिहीबार राति ७ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो।
पानी नरोकिएकाले राति हिलो पन्छाएर सडक सुचारु गर्न नसकिएको जिल्ला प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताए। पानी रोकिएपछि बिहानैदेखि पहिरो हटाउने काम सुरु गरिएको उनले भने। पहिरोले सडक अवरुद्ध भएपछि सुर्खेतबाट आएका गाडी खिड्कीज्युलामा रोकिएका छन्।
उनले जुम्ला, मुगु र कालीकोट तथा कर्णाली करिडोरको हुम्ला, बाजुरा र कालीकोटको रास्कोट भेगबाट आएका गाडी पनि रोकिएको बताए। उनका अनुसार पहिरो लगातार झरिरहेकोले जेसीभी मेसिन गगने खोलाकै साइडमा भए पनि पहिरो पन्छाउन सकिएको छैन।
प्रकाशित: ५ भाद्र २०८३ १०:१७ शुक्रबार





-600x400.jpg)