१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

आहा! रारा पोखरा गोल्डकपमा सेमीफाइनल समीकरण पूरा

पोखरामा जारी आहा! रारा पोखरा गोल्डकपमा सेमीफाइनल समीकरण पूरा भएको छ।

पोखरा रंगशालामा भइरहेको प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वाटरफाइनल खेल सकिएसँगै प्रतियोगितामा सेमीफाइनल समीकरण पूरा भएको हो। मंगलबारको अन्तिम क्वाटरफाइनल खेलमा विदेशी टोली आभा एफसी उज्वेकिस्तानले प्लानिङ ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै सेमीफाइनल यात्रा तय गर्यो।

यसअघि आयोजक सहारा क्लब पोखरा, जावलाखेल युथ क्लब र ६ पटकको उपाधि विजेता मनाङमर्स्याङ्दी क्लबले अन्तिम चारका लागि स्थान सुरक्षित गरिसकेका छन्।

फाइनल प्रवेशका लागि हुने सेमीफाइनलको पहिलो खेलमा बुधबार आयोजक सहारा क्लब पोखरा र मनाङमर्स्याङ्दी क्लब प्रतिस्पर्धामा उत्रिनेछन्। सेमीफाइनलको दोस्रो खेलमा भने बिहीबार आभा एफसी उज्वेकिस्तानबिरुद्द जाउलाखेल युथ क्लब भिड्ने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।

मंगलबारको अन्तिम क्वाटरफाइनल खेलमा आभा एफसी उज्वेकिस्तानले प्लानिङ ब्वाइज युनाइटेडबिरुद्द १–० को कठीन जित हात पार्यो। बुढासुब्बा गोल्डकप जितेर आएको प्लानिङ ब्वाइजले उज्वेकिस्तानी टोलीलाई कडा टक्कर दिए पनि हार टार्न सकेन। पहिलो हाफ बराबरीमा टुंगिएको खेलको ५६ औं मिनेटमा आभा एफसीले अग्रता बनायो। 

आभा एफसीका उमिदजोन कारिलोभले गरेको सो गोल नै निर्णायक गोल बन्यो। उनले मैदानको मध्य भागबाट दायाँ साइड च्यापेर हानेको प्रहारले सिधै जाली चुम्न पुगेको थियो। त्यसपछिको खेलमा प्लानिङ ब्वाइजले निरन्तर अवसर बनाईरहे पनि गोलमा परिणत गर्न नसक्दा क्वाटरफाइनलबाटै बाहिरिन बाध्य भयो।

सो खेलमा निर्णायक गोलकर्ता उमिदजोन कारिलोभ प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगिताको उपाधि विजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ।

प्रकाशित: ५ फाल्गुन २०८२ १८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App