चितवन जिल्ला क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी मिना खरेलले आफूलाई जनताले मतदान गरे उक्त क्षेत्रबाट ठग प्रवृत्तिको राजनीति अन्त्य हुने बताएकी छन्।
मतदातासँग घरदैलो अभियानका क्रममा उनले आफ्नो जितलाई सिंगो समाज, देश, महिला, बालबालिका र सिमान्तकृत समुदायको जितका रूपमा रहेको बताएकी छिन्। ‘मिनाले जिते भने समाजले जित्नेछ, देशले जित्नेछ, महिलाले जित्नेछ, बच्चाले जित्नेछ, भ्रमले जित्ने छैन, ठगले जित्ने छैन,’ उनले भनिन्।
खरेलले आफू भ्रष्टाचारविरुद्धको अभियानमा लामो समयदेखि सक्रिय रहेको बताउँदै आफूमाथि कुनै दाग वा हिंसाको आरोप नरहेको भन्दै कसैलाई बेइमानी नगरेको र मतदातासँग पनि बेइमानी नगर्ने बताएकी छिन् ।
उनले भरतपुर महानगरपालिका, इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका समेटिएको क्षेत्र नम्बर–२ भौगोलिक तथा सामाजिक रूपमा विविध रहेको भन्दै नारायणगढ बजारजस्ता सहरी क्षेत्रदेखि चेपाङ, दलित तथा सिमान्तकृत समुदाय बसोबास गर्ने दुर्गम बस्तीसमेत यस क्षेत्रमा पर्ने बताउँदै उनले विकासको समान पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
विगतमा निर्वाचित प्रतिनिधिहरूले बजेट ल्याएको दाबी गरे पनि जनताको नाममा स्पष्ट विवरण नदिएको भन्दै उनले अब यथार्थमा आधारित निर्णय गर्ने समय आएको बताइन्।
प्रकाशित: १३ फाल्गुन २०८२ १२:२८ बुधबार





