छोरा,
तिमी परदेश जाँदा
मैले आँसु लुकाएर
आशीर्वाद दिएको थिएँ।
भनेकी थिएँ -
“जाऊ, सुखी होऊ।”
तर मनभित्र
तिमीलाई आफ्नै देशमा
सुखी देख्ने हेर्ने चाहना
कहिल्यै मरेन।
बाबू,
तिमीले एयरपोर्टबाट फर्केर हेर्दा
म मुस्कुराएकी थिएँ,
तर घर फर्केर
खाली कोठासँग रोएकी थिएँ।
परदेशको चिसो रातमा
तिमीले देशको नक्सा
मुटुभित्र बोकेर सुतेका थियौ,
यहाँ म
तिम्रो बाल्यकालको तस्वीर अँगालेर
दिन काटिरहेकी थिएँ।
अब सुन्छु -
तिमीहरू फर्किँदैछौ रे।
नयाँ नेतृत्वमाथि भरोसा राखेर,
सुनौलो बिहानीको विश्वास बोकेर।

नवनेताहरू,
यो केवल मत होइन,
यो आमाको प्रतीक्षा हो।
यो बाबुको अधुरो सपना हो।
यो हजुरआमाको
नातिलाई आफ्नै आँगनमा,
खेलाउन चाहेको इच्छा हो।
फर्किएका यी पाइला
फेरि निराश नबनून्।
फेरि विदाइको हात हल्लाउन नपरोस्।
फेरि टिकट काट्दा
ऋण मात्र होइन,
मन पनि काट्न नपरोस्।
हामी धेरै रोइसकेका छौं।
अब रुनु नपरोस्।
हामी चमत्कार माग्दैनौं-
हामी इमान माग्छौं।
हामी ठूलो वाचा होइन-
सच्चा प्रयास माग्छौं।
ताकि भोलि
मेरो छोरो गर्वले भन्न सकोस् -
“आमा, म फर्किएर गल्ती गरिन।”
नवनेताहरू,
हाम्रो आशालाई
फेरि परदेशको बाटो नदेखाउनुहोस्।
यसपालि
हाम्रो मतको विश्वासलाई
मान, इज्जत र भरोसा दिनुहोस्।
किनकि-
हामी आमाबुबाको आशा
अझै पनि टिकेको छ
नवनेताहरूमा।
- अञ्जु चालिसे 'रूपाञ्जली'
प्रकाशित: १३ फाल्गुन २०८२ १२:१५ बुधबार





