२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

अफगानिस्तानले आयरल्यान्डविरुद्ध एक खेलअगावै शृंखला जित्यो

अफगानिस्तानले आयरल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला एक खेलअगावै जितेको छ। स्टर्मोन्टमा भएको चाैथाे खेलमा अफगानिस्तानले घरेलु टोली आयरल्यान्डलाई ४२ रनले पराजित गर्दै शृंखला आफ्नो पक्षमा पारेको हो।

पहिलो खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तानले दोस्रो खेल ९२ रनले तथा तेस्राे खेल ३ विकेटले जितेको थियो। चाैथाे खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै उसले लगातार तेस्राे जित निकाल्यो।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३४३ रन बनायो। उसका लागि इब्राहिम जादरान र सेदिक अतलले दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै टोलीलाई बलियो योगफलतर्फ पुर्‍याए। अफगानिस्तानको यो ओडीआईमा अहिलेसम्मकै सर्वाधिक योगफलसमेत बन्यो।

३४४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले सुरुवातमा राम्रो प्रदर्शन गरे पनि लक्ष्यसम्म पुग्न सकेन। ओपनर एन्ड्र्यु बालबिर्नीले शतक प्रहार गर्दै आयरल्यान्डको आशा जीवित राखेका थिए। तर उनी राशिद खानको बलमा आउट भए। यस शृंखलामा राशिदले अहिलेसम्म लिएका १२ विकेटमध्ये बालबिर्नी ११औँ सिकार बने।

कर्टिस क्याम्फरले आक्रामक ब्याटिङ गर्दै ४६ बलमा ८४ रन बनाएर आयरल्यान्डको जितको सम्भावना कायम राख्ने प्रयास गरे। तर अन्य ब्याटरले साथ दिन नसकेपछि आयरल्यान्ड ४९.१ ओभरमा ३०१ रनमै अलआउट भयो।

यससँगै अफगानिस्तानले पाँच खेलको शृंखलामा ३–० को अग्रता बनाउँदै एक खेल बाँकी छँदै शृंखला जितेको छ। शृंखलाको अन्तिम खेल शनिबार स्टर्मोन्टमै हुनेछ।

 

प्रकाशित: २८ श्रावण २०८३ ०६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App