सहिद स्मारक 'ए' डिभिजन लिगका क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग ७ बुँदे माग राखेका छन्।
सोमबार क्लबहरूले पत्रकार सम्मेलन गरेर एन्फासँग ७ विषयमा माग राखेका हुन्। नेपाली फुटबल दिनदिनै खस्किँदै गएको र एक–एक गर्दै कमजोरीहरू बाहिर आउँदै गर्दा संघ चलाउन एन्फाका पदाधिकारीहरू असक्षम रहेको क्लबहरूको भनाइ छ।
एन्फाको आफ्नो खुसीले एकलौटी निर्णय गर्ने प्रवृत्तिप्रति आफूहरू आजित भइसकेको उनीहरूको भनाइ छ। पत्रकार सम्मलेन सकेलगत्तै अहिले उनीहरू सातोबाटोमा रहेको एन्फाको मुख्यालयमा धर्ना बसिरहेका छन्।
यस्ता छन् एन्फासँग क्लबहरूको ७ बुँदे मागहरू:
१. एन्फा र ए डिभिजन क्लब बिच लिगको सम्बन्ध मा मिति २०८२।०७।१७ गते भएको कार्य तालिका सहितको सहमति कार्यान्वयन गर्नुपर्ने।
२. राष्ट्रिय लिग चालु रहिरहेको अवस्थामा ट्रन्सफर विन्डो खुल्ला नगरि कसरी अर्को क्लबमा खेलाडी सम्झौता गर्न नमिल्ने हुँदा क्लबको सम्झौता अनुसार कार्य गर्नुपर्ने ।
३. क्लबहरुले विदेशी खेलाडी आवद्ध गर्दा वर्क परमिट लिनलाई पर्याप्त समय आवश्यक पर्ने हुन्छ। राष्ट्रिय लिगमै पनि एन्फाले वर्क परमिटको लागि गर्ने सहजिकरण नगरेकोले अन्योलता सृजना भएकोले विदेशी खेलाडीहरूको हकमा विन्डो ओपनगरि एक द्वार प्रणालीबाट वर्क परमिटलिने व्यवस्था अबिलम्ब गर्नुपर्ने।
४.प्रतियोगिता नियमावली अनुसार सहिद स्मारक ए डिभिजन लिगको लागि १४ क्लबको सहभागी हुने भन्ने उल्लेख गरिएकोले लिगको वैधताको तथा कानुनी अड्चन आउन नदिन एन्फाले समयमै निर्णय गरि १४ वटा क्लबको सहभागिता सुनिश्चतता गर्नु पर्ने।
५. मिति २०८२/११ र२६ गते क्लबहरुले एन्फालाई बुझाएको ध्यानाकर्षण पत्र विपरीत एकलौटी तबरले सहभागी क्लबहरु संग छलफल नै नगरि मनोमानि तबरले लिग नगर्ने उद्देश्यका साथ लिगको मिति तय गरेकोमा उक्त निर्णय अबिलम्ब सच्चाइ क्लबहरु सहमति अनुसार निर्णय गर्नुपर्ने।
६. क्लबहरू सँगको सहमति बमोजिम राष्ट्रिय लिग समाप्त भएको ३० दिन पश्चात ए डिभिजन लिगका लागि प्रारम्भिक छलफल सुरु गरि लिगको बारेमा निर्णय गर्ने सहमतिलाई कार्यान्वयन गर्नु पर्नेमा बिना छलफल सहमति बेगर राष्ट्रिय लिग चलिरहेको अवस्थामा लिगको मिति तय भएकोमा गम्भीर असहमति जनाउदै सहभागी क्लब तथा सम्झौता बमोजिम कार्य तालिका प्रकाशित गर्नुपर्ने।
७. लिग सम्बन्धि प्राविधिक तथा आर्थिक पक्ष सबै सुनिश्चतता गरि क्लब सँगको सहमतिमा मात्र लिगको मिति तय गर्नुपर्ने।
प्रकाशित: २ चैत्र २०८२ १४:११ सोमबार





