२२ असार २०८३ सोमबार
image/svg+xml
खेल

स्पेनविरुद्ध रोनाल्डोको अग्नीपरीक्षा

उत्तरी अमेरिकी राष्ट्रमा फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत आइतबार हुने बहुप्रतीक्षित खेलमा युरोपका दुई परम्परागत प्रतिद्वन्द्वी स्पेन र पोर्चुगल आमनेसामने हुँदै छन्।

डलासमा हुने यस खेलले केवल क्वार्टरफाइनलको टिकट मात्र तय गर्ने छैन, पछिल्ला केही वर्षयता उत्कृष्ट लयमा रहेको स्पेनको अपराजित यात्राको पनि परीक्षा लिनेछ। पोर्चुगल अन्तिम ३२ को खेलमा क्रोएसियालाई हराउँदै निकै कठिन संघर्षपछि अन्तिम १६ मा पुगेको हो। खेलको अन्तिम क्षणसम्म नतिजा अनिश्चित रहँदा कप्तान क्रिस्टियानो रोनाल्डोले विश्वकप नकआउट चरणमा आफ्नो पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले निर्णायक गोल गरेपछि पोर्चुगल जितको नजिक पुगेको थियो।

तर त्यसपछि खेलमा अर्को नाटकीय मोड आयो। क्रोएसियाका जोस्को ग्भार्डियोलले बराबरी गोल गरे पनि भिडियो सहायक रेफ्री (भार) ले त्यसलाई अमान्य ठहर गरेपछि पोर्चुगलले रोमाञ्चक जित हात पार्दै अन्तिम १६ को यात्रा तय गर्‍यो। उक्त निर्णयलाई लिएर व्यापक बहस भए पनि पोर्चुगलका लागि त्यसले ठूलो राहत दिएको थियो।

अब प्रशिक्षक रोबर्टो मार्टिनेजको टोली लगातार दोस्रो विश्वकपअन्तर्गत क्वार्टरफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ। पोर्चुगलले यसअघि सन् २००६ मा नेदरल्यान्ड्स र इङ्ल्यान्डलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो। त्यसयता भने उसले लगातार दुई नकआउट खेल जित्न सकेको छैन। तर यसपटकको चुनौती निकै कठिन छ, किनभने विपक्षीमा प्रतियोगिताकै सबैभन्दा प्रभावशाली टोलीमध्ये एक स्पेन रहेको छ।

लुइस दे ला फुएन्तेको नेतृत्वमा रहेको स्पेनले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। समूह चरणदेखि नै सन्तुलित आक्रमण र बलियो रक्षात्मक खेल प्रस्तुत गरेको स्पेनले अन्तिम ३२ मा अस्ट्रियालाई ३–० ले हराउँदै आफ्नो दाबेदारी अझ बलियो बनाएको थियो। उक्त खेलमा मिकेल ओयार्जाबालले दुई गोल गरे भने पेड्रो पोरोले एक गोल थपेका थिए।

स्पेनले यस विश्वकपका चारवटै खेलमा एक गोल पनि नखाई अन्तिम १६ सम्मको यात्रा तय गरेको छ। विश्वकप इतिहासमा लगातार छ खेल क्लिनसिट राख्ने पहिलो टोली बन्ने अवसर पनि अब स्पेनसँग छ। सन् २०२२ को विश्वकपमा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित हुनुअघि अन्तिम १६ को खेलमा पनि स्पेनले निर्धारित समयभर कुनै गोल खाएको थिएन।

स्पेनको अपराजित यात्राले पनि सबैको ध्यान तानेको छ। टोली पछिल्ला ३४ अन्तर्राष्ट्रिय खेलदेखि अपराजित छ, जसमा २५ जित र ९ बराबरी समावेश छन्। यो क्रम कायम रहे स्पेनले आफ्नो इतिहासकै सबैभन्दा लामो ३५ खेलको अपराजित यात्राको बराबरी गर्नेछ।

मुख्य प्रशिक्षक दे ला फुएन्तेले पनि आफ्नो कार्यकालमा लगातार उत्कृष्ट नतिजा निकालिरहेका छन्। विश्वकप र युरोकपमा उनले हालसम्म खेलेका ११ मध्ये १० खेल जितेका छन् भने एक खेल बराबरीमा टुंगिएको छ। यदि पोर्चुगललाई हराउन सफल भए उनी आफ्नो पहिलो १२ प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताका खेलमा अपराजित रहने दुर्लभ उपलब्धि हासिल गर्ने प्रशिक्षकको सूचीमा पर्नेछन्।

तथ्यांकले पनि स्पेनको बलियो प्रदर्शन पुष्टि गर्छ। यस विश्वकपमा स्पेनले प्रतिखेल औसत २.० अपेक्षित गोल  सिर्जना गरेको छ भने विपक्षीलाई केवल ०.२ मा सीमित राखेको छ। प्रतियोगितामा समूह चरण पार गरेका युरोपेली टोलीमध्ये यो सबैभन्दा प्रभावशाली प्रदर्शन हो।

यद्यपि पोर्चुगल पनि आक्रमणमा कमजोर छैन। मार्टिनेजको टोलीले यस विश्वकपमा प्रतिखेल औसत १.६ सिर्जना गरिरहेको छ, जुन ब्राजिलमा भएको २०१४ विश्वकपयताकै उत्कृष्ट प्रदर्शन हो।

पोर्चुगलका लागि सबैभन्दा ठूलो आशा कप्तान रोनाल्डो हुनेछन्। स्पेनविरुद्ध उनले चार अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्, जुन कुनै पनि खेलाडीले स्पेनविरुद्ध गरेको संयुक्त सर्वाधिक गोल हो। विशेष गरी सन् २०१८ विश्वकपमा उनले स्पेनविरुद्ध गरेको ह्याट्रिक अझै पनि विश्वकप इतिहासका अविस्मरणीय प्रदर्शनमध्ये एक मानिन्छ।

यता स्पेनका ओयार्जाबाल पनि उत्कृष्ट लयमा छन्। उनले यस विश्वकपमा चार गोल गरिसकेका छन्। सन् २०१० मा डेभिड भिल्लाले पाँच गोल गरेपछि विश्वकपको एउटै संस्करणमा कुनै पनि स्पेनी खेलाडीले यति धेरै गोल गर्न सकेको थिएन।

यी दुई टोलीबिच प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा पाँच पटक भेट भएको छ। दुवैले एक–एक खेल जितेका छन् भने तीन खेल बराबरीमा सकिएका छन्। पछिल्ला १२ प्रतिस्पर्धात्मक भेटमा भने पोर्चुगलले केवल एक जित मात्र निकालेको छ। यद्यपि सन् २०२५ को युइएफए नेसन्स लिगको फाइनलमा पेनाल्टी सुटआउटमार्फत स्पेनलाई पराजित गरेको स्मृतिले पोर्चुगललाई आत्मविश्वास दिनेछ।

सांख्यिकीय विश्लेषण गर्ने सुपरकम्प्युटरले भने यस खेलमा स्पेनलाई स्पष्ट रूपमा बलियो दाबेदार मानेको छ। २५ हजार सिमुलेसनमध्ये झन्डै आधामा स्पेनले निर्धारित ९० मिनेटभित्रै जित निकाल्ने अनुमान गरिएको छ।

पोर्चुगलको जितको सम्भावना करिब एक चौथाइ रहेको छ भने बाँकी अवस्थामा खेल अतिरिक्त समय वा पेनाल्टी सुटआउटसम्म पुग्ने अनुमान गरिएको छ।

दुवै टोलीको वर्तमान लय, अनुभवी खेलाडी र उच्चस्तरीय प्रदर्शनलाई हेर्दा डलासमा हुने यो भेट विश्वकप २०२६ कै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक बन्ने अपेक्षा गरिएको छ। एकातिर स्पेन आफ्नो अपराजित यात्रा कायम राख्दै क्वार्टरफाइनल पुग्न चाहन्छ भने अर्कोतर्फ रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगल अर्को ऐतिहासिक सफलता हासिल गर्ने लक्ष्यसहित मैदान उत्रनेछ।

प्रकाशित: २२ असार २०८३ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App