१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

ट्वान्टी-२० विश्वकप २०२२: तेह्र वर्षपछि पाकिस्तान फाइनलमा

मोहम्मद रिजवान र बाबर आजमको शतकीय साझेदारी प्रेरणामा पाकिस्तानले बुधबार न्युजिल्यान्डमाथि सात विकेटको जित निकाल्दै ट्वान्टी-२० विश्वकपको फाइनलमा स्थान बनाएको छ।

ओपनरद्वय रिजवान र बाबरले शतकीय साझेदारी गरेपछि पाकिस्तान टवान्टी–२० विश्वकपको दोस्रो उपाधिका लागि एक जित मात्र टाढा छ। पाकिस्तानले फाइनलमा भारत र इङ्ल्यान्ड बीचको विजेतासँग आगामी आइतबार मेलबर्न क्रिकेट मैदानमा उपाधि भिडन्त गर्नेछ। इङ्ल्यान्ड र भारतले बिहीबार नै दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै छन्। अनुशासित बलिङ र चुस्त फिल्डिङ गर्दै पाकिस्तानले सिड्नी क्रिकेट मैदानमा न्युजिल्यान्डलाई १५२/४ को स्थितिमा रोक्यो। उक्त खेलमा ३६ हजार चार सय ४३ समर्थक थिए। जहाँ पाकिस्तानका रिजवानले ५७ र आजमले ५३ रन जोड्दै जित आधार तय गरे।

यो जोडीले पहिलो विकेटको लागि एक सय ५ रनको यादगार साझेदारी गर्‍यो। यी दुवै ब्याट्सम्यान आउट हुँदा केही सकस भए पनि मोहम्मद हरिसले २६ बलमा ३० रन जोडेपछि पाकिस्तानले पाँच बलअगावै जित रच्यो। ‘मैले र बाबरले नयाँ बलमा राम्रो सुरुआत दियौं। यद्यपि, पिचमा केही कठिनाइ भने थियो,’ म्यान अफ दी म्याच रिजवानले भने, ‘पावर प्लेमा हामीले राम्रो गर्न सक्यौं। बाबरले पनि धेरै मिहिनेत गरे।’ पाकिस्तानले सन् २००९ मा इङ्ल्यान्डको लर्ड्समा श्रीलंकालाई आठ विकेटले हराउँदै पहिलोपटक ट्वान्टी-२० विश्वकप जितेको थियो।

यसपटक अस्ट्रेलियामा पनि पाकिस्तानले त्यो इतिहास दोहोर्‍याउने सम्भावना बढेको छ। समूहचरणका पहिलो दुई खेलमा भारतका साथै जिम्बाब्वेसँग अप्रत्याशित हार बेहोरेको पाकिस्तानको सेमिफाइनल यात्रा पनि अप्रत्याशित नै थियो। शीर्ष स्थानको दक्षिण अफ्रिका तुलनात्मक रूपमा कमजोर टोली नदेरल्यान्ड्ससँग स्तब्ध भएपछि सेमिफाइनल लक्ष्य आशा मारिसकेको पाकिस्तानको सम्भावना बढेको थियो। दक्षिण अफ्रिकाको डच टोलीसँगको हारपश्चात् बंगलादेशमाथि जित निकालेपछि पाकिस्तानले अप्रत्याशित रूपमा सेमिफाइनलमा स्थान बनायो।

पाकिस्तानले बुधबार पनि जित निकाल्दै न्युजिल्यान्डलाई लगातार दोस्रो पटक फाइनलमा स्थान बनाउनबाट रोक्यो। यो हारसँगै पहिलो पटक ट्वान्टी-२० विश्वकप जित्ने न्युजिल्यान्डको लक्ष्य पूरा हुन सकेन। न्युजिल्यान्डले जारी विश्वकपमा ६ खेलमध्ये पाँच पटक टस जित्दा पहिलो पटक ब्याटिङ गर्ने निर्णय गरेको थियो। सेमिफाइनलमा पनि कप्तान केन विलियम्सनले टस जिते र पाकिस्तानलाई बलिङ गर्न लगाए। यस पटक भने त्यो निर्णय सही हुन सकेन। पाकिस्तानका तीव्र गतिका बलर साहिन साह अफ्रिदीले पहिलो ओभरमा नै फिन एलेनलाई ४ रनमा आउट गर्दै न्युजिल्यान्डलाई झड्का दिए।

त्यसपछि न्युजिल्यान्ड समालिएर खेल्यो। यद्यपि, पावर प्लेको अन्तिम बलमा डेभोन कनवे २१ रनमा रनआउट हुन पुगे। पाकिस्तानका मिडफिल्डर सादब खानले मिडअफबाट सीधा थ्रो गर्दै उनलाई पवेलियनको बाटो देखाए। पछिल्लो समय राम्रो लयमा रहेका ग्लेन फिलिप्स ६ रनमै आउट भएपछि न्युजिल्यान्डलाई तेस्रो झड्का लाग्यो। उनलाई आठौं ओभरको अन्तिम बलमा मोहम्मद नवाजले कट एन्ड बोल्ड गरे। त्यसपछि डारेल मिचेल र विलियम्सनले सुस्त ब्याटिङ गर्दै केही जोखिम लिए। १० ओभर समाप्तिमा न्युजिल्यान्ड ५९/९ थियो।

न्युजिल्यान्डको पहिलो छक्का १३औं ओभरमा मात्र सम्भव बन्यो। १७औं ओभरमा विलियम्सन ४६ रनमा आउट भए। दुई बाउन्ड्री मात्र प्रहार गरेका विलियम्सनलाई साहिनले योर्कर बलमा बोल्ड गरे। तर, मिचेलले ५३ रनमा नटआउट रहँदै इनिङ उकासे। जिमी निसम १६ रनमा नटआउट रहे। न्युजिल्यान्डले अन्तिम तीन ओभरमा २९ बटुलेका थिए। ‘प्रतिस्पर्धात्मक योगफल बनाउँछौं भन्ने थियो। तर, निराशाजनक रह्यो,’ विलियम्सनले भने, ‘हामीले केही सबै क्षेत्रमा अनुशासित काम गर्नुपर्थ्यो तर सकेनौं। पाकिस्तान यसको हकदार रह्यो।’

पाकिस्तानका कप्तान बाबरले पछिल्ला पाँच खेलबाट कुल ३९ रन मात्र जोडेका थिए। यस पटक पनि पहिलो बलमा नै ट्रेन्ट बोल्टको बलिङमा विकेटकिपर कनवेले उनको क्याच छाडेका थिए। त्यसको फाइदा लिँदै उनी र रिजवानले सो ओभरमा १५ रन जोडे। पावरप्ले सकिँदा पाकिस्तानले ५५ रन जोड्यो। यो जोडीले १२ ओभरमा पाकिस्तानलाई सय रनको आँकडा पार गरायो, जुन जितको आधारसमेत बन्यो। ‘समर्थकलाई विशेष धन्यवाद दिन चाहन्छु,’ बाबरले भने, ‘आज हामीलाई घरमा  खेलेजस्तो भयो।’ 

प्रकाशित: २४ कार्तिक २०७९ ०१:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App