१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

एथ्लेटिक्समा पाँच स्वर्ण पदक निर्णय

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज एथलेटिक्सको पाँच स्वर्ण पदक निर्णय भएको छ। जसमा नेपाली सेनाले तीन तथा लुम्बिनी र कर्णाली प्रदेशले एक–एक स्वर्ण पदक हात पारेका छन्। पोखरा रङ्गशालामा भएको महिला एक सय मिटर हर्डल्समा नेपाली सेनाकी जयरानी थारूले स्वर्ण पदक प्राप्त गरिन्।

हिट चरण १५.१६ सेकेन्डको समयमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाइसकेकी जयरानीले फाइनलमा स्वर्ण पदक जित्न १५.६९ सेकेन्डको समय लिइन्। उनले आफ्नै नाममा रहेको १५.२० सेकेन्डको कीर्तिमान उछिनेकी हुन्। यस विधामा नेपाली सेनाकै निर्मला थापाले १६.२५ सेकेन्डको समय निकाल्दै रजत तथा एपिएफकी भगीरतीकुमारी थारूले १९.१३ सेकेन्डको समयमा पूरा गरेर कास्य पदक जितिन्।

एक सय १० मिटर हर्डल्स: चौधरीलाई स्वर्ण

यसैगरी एक सय १० मिटर पुरुष हर्डल्समा पनि नेपाली सेनाकै जीवन चौधरीले स्वर्ण पदक जित्न सफल भए। चौधरीले निर्धारित दूरी १५.०३ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन्। सो इभेन्ट्समा पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डसहित रजत पदक तथा सेनाका रामप्रसाद थारूले १६.०० सेकेन्डको समयमा पूरा गरी कास्य पदक जिते।

डिसकस थ्रोः ओली र अधिकारी विजेता

एथ्लेटिक्सको डिस्कस थ्रोमा नेपाली सेनाका चित्रबहादुर ओलीले ३८.४८ मिटरको दूरी फ्याल्दै स्वर्ण पदक हात पारे। नेपाल पुलिस क्लबका पुस्कल खड्काले ३२.७५ मिटरसहित रजत पदक जिते भने सुदूरपश्चिमका हेमन्त पाल ३१.१० मिटर फालेर कास्य पदक जिते।

महिलातर्फ लुम्बिनी प्रदेशकी सङ्गीता अधिकारीले ३५.१० मिटरको दूरीसहित स्वर्ण पदक प्राप्त गरिन्। सो विधामा एपिएफकी जितकुमारी महतो ३३.६० मिटरसहित रजत पदक जितिन् भने नेपाली सेनाकी मिलन बुढामगरले ३२.३५ मिटर फालेर कास्य पदक प्राप्त गरिन्।

तीन हजार मिटर स्टिपल चेज: दुर्गालाई कीर्तिमानसहित स्वर्ण

कर्णाली प्रदेशका दुर्गाबहादुर बुढाले पुरुष तीन हजार मिटर स्टिपल चेजमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जितेका छन्। उनले निर्धारित दूरी आठ मिनेट ५५ः१९ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्। यसअघि सन् २००४ मा पाकिस्तानको इस्लामावादमा राजेन्द्र भन्डारीले आठ मिनेट ५७ः३० सेकेन्डको कीर्तिमान बनाएका थिए।

सो स्पर्धामा एपिएफका अजितकुमार यादवले नौ मिनेट २१ः१० सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा नेपाली सेनाका सुवास कार्की नौ मिनेट २१ः१० सेकेन्डमा पार गर्दै कास्य जिते।

प्रकाशित: ३१ आश्विन २०७९ १२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App