१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

टेनिसको टिम इभेण्टमा गण्डकी र सेनालाई स्वर्ण पदक

स्वर्ण पदक जित्न सफल गण्डकी प्रदेशको टोली ट्रफीका साथमा

टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिष्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन्। 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मी माथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो।

टेनिसमा स्वर्ण पदक जित्न सफल विभागीय नेपाली सेनाको टोली ट्रफीका साथमा

टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा सेनाका अकि जुवेन रावतले गण्डकीका अनिल शाहीलाई  ६–३ र ६–३ सेटमा पराजित गरे।

एकलको दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले सेनाका प्रणव खनालमाथि ६–३ र ७–५ सेटमा जित निकाले। पुरुष डबल्सतर्फको प्रतिष्पर्धामा प्रदीप र अनिलको जोडीले प्रणव र अकिको जोडीलाई  २–६, ६–३ र १०–७ को सेटमा पराजित गरेपछि गण्डकी च्याम्पियन बनेको हो। पुरुषतर्फ गण्डकीले स्वर्ण पदक जित्दा सेनाले रजत पदकमा चित्त बुझायो।

महिलातर्फ एकलमा सेनाले अर्को विभागीय टोली सशस्त्र प्रहरीलाई हराएको हो। सेनाका अभिलाषा विष्टले सशस्त्रका सर्वााणी श्रेष्ठलाई ७–५,१–६ र ६–१ को सेटमा पराजित गरे। अर्को खेलमा सेनाका आइरा एम रावतले सशस्त्रका सुनिरा थापालाई ६–१, १–६ र ७–५ सेटमा पराजित गरेपछि सेना च्याम्पियन बन्दै स्वर्ण पदक जित्न सफल भने सशस्त्रले कास्य पदक पायो।

महिला टिम इभेन्टमा वागमती प्रदेश र नेपाल प्रहरीले कास्य पदक जित्दा पुरुषतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीले कास्य पदक जिते। प्रतियोगितामा विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषद्का कार्यवाहक सदस्य सचिव घनश्याम पौडेलले ट्रफी तथा मेडल प्रदान गरेका थिए।

प्रकाशित: ३० आश्विन २०७९ ११:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App