१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

एथलेटिक्सको पुरुष १० हजार मिटरमा दीपक अधिकारीको कीर्तिमानी

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष १० हजार मिटरमा आर्मीका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित आइतबार स्वर्ण पदक जितेका छन्।

पोखरा रंगशालामा आइतबार  भएको दौडमा दीपकले गोपीचन्द्र पार्कीको कीर्तिमानलाई उछिन्दै स्वर्ण पदक जितेका हुन्। उनले निर्धारित दूरी ३० मिनेट १० दशमलव ३० सेकेण्डमा पार गर्दै स्वर्ण जितेका हुन्। यसअघि गोपीको नाममा ३० मिनेट ३० दशमलव ९९ सेकेण्डको कीर्तिमान रहेको थियो। सोही प्रतिष्पर्धामा गोपीचन्द पार्कीले रजत पदकमा चित्त बुझाए। उनले निर्धारित दूरी ३० मिनेट ३८ दशमलव ३० सेकेण्डमा पूरा गरे। तेस्रो आर्मीकै गजेन्द्र राईले कास्य पदक हात पारे। उनले निर्धारित दूरी ३० मिनेट ४९ दशमलव ५० सेकेण्डमा पूरा गरेका थिए। उता महिलातर्फ १० हजार मिटरको महिला प्रतिष्पर्धामा भने वागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक हात पारेकी थिइन्।

एथलेटिक्सको ४ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लवकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। जयरानीले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेण्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन्। जयरानीले आफ्नै नामको कीर्तिमान सुधार गरेकी हुन्। जयरानीले यसअघि ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७ दशमलव २ सेकेण्डको कीर्तिमान बनाएकी थिइन्। यस प्रतिष्पर्धामा एपीएफकी भागीरथीकुमारी थारुले १ मिनेट ०६.०६ सेकेण्डमा पूरा गर्दै रजत पदक निकाल्दा एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सेकेण्डको समय निकाल्दै कास्य पदकमा चित्त बुझाइन्।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको पुरुष हाइजम्पमा त्रिभूवन आर्मी क्लवका सूर्यबहादुर खत्रीले स्वर्ण पदक जिते। सूर्यले १.९० मिटरको उचाई नाघेर स्वर्ण जितेका हुन्। यस्तै, वागमती प्रदेशका निकेश महतोले १.७५ मिटर उचाई नाघ्दै रजत तथा नेपाल पुलिसका रोशन दनुवारले १.७५ मिटर नै उचाई नाघेर कास्य जितेका छन्। यही इभेन्टमा आर्मीकी खगिता सिन्जाली मगरले आईतवार बिहाननै स्वर्ण पदक जितेकी थिइन्। पोखरा रंगशालामा आईतवार  भएको खेलमा १.५२  मिटर उचाई नाघेर स्वर्ण पदक जितेकी हुन्। यसै इभेन्टमा आर्मीकै बिन्दु थनेटले रजत र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कास्य पदक जिते। बिन्दुले १.५० तथा सीमाले १.४१ को उचाई नाघेका थिए।

प्रकाशित: ३० आश्विन २०७९ ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App