१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

टेनिसमा गण्डकी र सेनालाई स्वर्णपदक

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्णपदक जितेका छन्।  

पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न भएको खेलमा नेपालको शीर्ष बरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मीमाथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो।  

टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा सेनाका अकी जुवेन रावतले गण्डकीका अनिल शाहीलाई  ६–३,६–३ सेटमा पराजित गरेका हुन्। एकलको दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले सेनाका प्रनव खनालमाथि ६–३,७–५ सेटमा जीत निकारे। पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा प्रदीप र अनिलको जोडीले प्रनभ र अकीको जोडीलाई २–६, ६–३ र १०–७ को सेटमा पराजित गरेपछि गण्डकी च्याम्पियन बनेको हो। पुरुषतर्फ गण्डकीले स्वर्णपदक जित्दा सेनाले रजत पदकमा चित्त बुझायो।  

महिलातर्फ एकलमा सेनाले अर्को विभागीय टोली सशस्त्र प्रहरीलाई हराएको हो। सेनाका अभिलाषा विष्टले सशस्त्रका सर्भानी श्रेष्ठलाई ७–५, १–६ र ६–१ को सेटमा पराजित गरिन्। अर्को खेलमा सेनाका आइरा एम रावतले सशस्त्रका सुनिरा थापालाई ६–१, १–६ ७–५ सेटमा पराजित गरेपछि सेना च्याम्पियन बन्दै स्वर्णपदक जित्न सफल भने भने सशस्त्रले कास्यपदक पायो।  

महिला टिम इभेन्टमा बागमती प्रदेश र नेपाल प्रहरीले कास्यपदक जित्दा पुरुषतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीले कास्यपदक जिते। प्रतियोगितामा विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषद्का कार्यवाहक सदस्य सचिव घनश्याम पौडेलले ट्रफी तथा मेडल वितरण गरेका थिए। 

प्रकाशित: ३० आश्विन २०७९ ११:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App