१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

महानगर १० किलोमिटर दौडमा विभागीय हावी

दौड एकघण्टा ढिलो शुरु

निर्धारित समयभन्दा झण्डै एकघण्टा ढिलो गरी शुरु गरिएको १० किलोमिटर खुल्ला दौडको उपाधि नेपाली सेना(बैतडी)का मोहनदेव जोशी प्रथम भएका छन्। पोखरा महानगर खेलकुद विकास समितिद्वारा आयोजित दौडमा जोशीले ३५ मिनेट ३१.४ सेकेण्डमा  पुरा गर्दै प्रथम भएका हुन्। उनले नगद २५ हजार राशीको पुरस्कार थापे।  

त्यसैगरी गोरखाका निराजन भट्टराई दोस्रो हुने क्रममा ३६ मिनेट ०४.२ सेकेण्डमा पुरा गरेका थिए। गोरखाकै नवराज गुरुङ तृतीय भए। उनले ३६ मिनेट ५०.४ सेकेण्डमा दौड पुरा गरे। चौथो स्थानमा गोरखाकै श्याम मग्राती आए। उनले ३७ मिनेट ०८.३ सेकेण्डमा पुरा गरे। पोखराका सरोज शर्मा ३८ मिनेट ३९.२ सेकेण्डमा पुरा गर्दै पाँचौस्थानमा रहँदै दौड टुग्याएका थिए।  

दौडको लागि विहानै पोखरा रंगशाला पुगेका धावकहरु झण्डै एकघण्टा रोकिए। पोखरा रंगशालाभित्रको एथलेटिक्स ट्रयाक छिर्ने मुलगेटमा तालाबन्दी गरिएपछि दौड केही ढिलो हुन पुगेको थियो। ‘सबै व्यवस्थापन अघिल्लो दिन गरिएको थियो।’ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेलले भने–‘विहान आउँदा सबै खेलाडी भित्र प्रवेश गर्नै पाएनन्।’ मुलगेटमा तालाबन्दी भएपछि दौडको उदघाटन गर्न पुगेका मेयर धनराज आचार्य तथा उपमेयर मन्जुदेवी गुरुङ एकघण्टा बहुउद्देश्यीयक कभर्ड हल अगाडि नै प्रतिक्षामा बसेका थिए। ताला नखुलेपछि कभर्ड अगाडिबाटै दौड शुरु गरिएको थियो।  

ट्रयाकबाट दौड शुरु गर्न पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई पत्राचार गरिएको थियो। पत्रचारपछि सबै सामानसहित साउण्ड सिष्टम सबै सेट भईसकेको थियो। तर विहानपख मुलगेटमा तालाबन्दी भएपछि प्रतियोगिता बाहिरबाटै दौड शुरु गरिएको उनको भनाई थियो। ‘प्रतियोगिता आयोजना गर्दा खेलाडीले दौडिन पाउँदैन्। तर शुल्क तिरेर निजी क्षेत्रलाई भने तुरुन्तै ट्रयाक उपलब्ध गराईन्छ।’ उनले भने–‘निर्माण हुदैं गरेको भए सबैलाई रोक्नुपर्ने हो। तर शुल्क तिरेपछि ट्रयाक उपलब्ध गराउनु क्षेत्रीय खेलकुद विकास समितिको निकम्मापन हो।’  

यसैगरी महिला १० किलोमिटरको उपाधि नेपाली सेनाकी श्यामकली जैसीले जितिन्। उनले ४६ मिनेट ५८.२ सेकेण्डमा पुरा गर्दै नगद २५ हजार राशीको पुरस्कार थापिन्। त्यस्तै तनहुँकी नम्रता गुरुङले ४८ मिनेट ०७.५ सेकेण्डमा पुरा गर्दै दोस्रो पुरस्कार जितिन्। नवलपुरकी डोलमाया महतोले तेस्रो भईन्। उनी नवौं राष्ट्रिय खेलकुद  प्रतियोगितामा गण्डकी प्रदेशबाट बन्द प्रशिक्षणमा छन्। महतोले ४९ मिनेट २१.१ सेकेण्डमा पुरा गरिन्। चौथो स्थानमा पर्वतकी संगिता विक आईन्। पाँचौ स्थानमा स्याङजाकी चन्द्रकला बराल रहिन्। १० किलोमिटर दौड विजेताहरुले नगद २५, १५, १०, ५ र ३ हजार रुपैयाँ प्राप्त गरे।  

पोखरा महानगरपालिका विद्यालयस्तरीय छात्र ५ किलोमिटर दौडमा केफ एकेडेमीका विवेक परियार प्रथम भए। उनले १६ मिनेट ४० सेकेण्डमा पुरा गरे। त्यस्तै सैनिक आवासिय विद्यालयका प्रवेश आचार्यले १७ मिनेट ५१ सेकेण्डमा पुरा गर्दै दोस्रो भए। कराँते खेलाडी(बागमारा डोजो)का सुमित सिग्देलले १८ मिनेट १६ सेकेण्डमा पुरा गर्दै तेस्रो भए। छात्रा ५ किलोमिटर दौडमा छोरेपाटन माविकी नारायण भण्डारीले २५ मिनेट १ सेकेण्डमा पुरा गर्दै प्रथम भईन्। एलपी देवकोटा स्कुलकी मेनुका अधिकारी दोस्रो भईन्। उनले २५ मिनेट ५३.४० सेकेण्डमा पुरा गरेकी थिईन।  

इन्द्रराज्य लक्ष्मी माविकी आइतीमाया गुरुङ तेस्रो भईन्। २७ मिनेट १६.६३ सेकेण्डमा पुरा गरेकी थिईन्। चौथो स्थानमा ज्ञानज्योति विद्याकुन्जकी पल्लवी नेपाली, पाँचौस्थानमा सैनिककी जस्तिना गुरुङ भईन्। विजेता छात्र तथा छात्रा धावकलाई १५, १०, ५ , ३ र २ हजार प्रदान गरिएको थियो। महानगरले छैटौंदेखि १० औंस्थानसम्म आउने धावकहरुलाई नगद १ हजार रुपैयाँबाट पुरस्कृत गरेको थियो। विजेता धावकहरुलाई पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्का लगायतले नगदसहित पदक तथा प्रमाणपत्र वितरण गरेका थिए।  

प्रकाशित: १० आश्विन २०७९ १०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App