२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

एसिया कप क्रिकेट: श्रीलंकाको उपाधि जित्ने लक्ष्य

एसिया कपको दाबेदार मानिएको पाकिस्तानमाथि अप्रत्याशित जितसहित श्रीलंका आइतबार उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ।

देशमा राजनीतिक अस्थिरता र आर्थिक मन्दी भएपछि श्रीलंकाले एसिया कपको आयोजना अधिकार गुमाएको थियो। श्रीलंकाका लागि प्रतियोगिताको सुरुआत सम्झनलायक भएन। श्रीलंका अफगानिस्तानसँग आठ विकेटले पराजित भयो। अफगानिस्तानले १० ओभर बाँकी रहँदै जित निकालेको थियो। तर, पाँच पटकको विजेता श्रीलंकाले दोस्रो खेलमा बंगलादेशमाथि जित निकाल्दै लयमा फर्किएको संकेत गर्‍यो। सुपर फोरमा श्रीलंकाको यात्रा सानदार नै रह्यौ। तीनमध्ये तीनवटै खेलमा श्रीलंकाले जित निकाल्यो।

यस क्रममा श्रीलंकाले अफगानिस्तान, भारत र पाकिस्तानलाई निराश पार्‍यो। शुक्रबार श्रीलंकाले सुपर फोरको अन्तिम खेलमा पाकिस्तानलाई हरायो। जुन आइतबार हुने यी दुई टोलीबीचको फाइनलको पूर्वाभ्यास थियो। श्रीलंका पाकिस्तानविरुद्धको खेलमा स्पिन जोडी वानिदु हसरंगा र माहिस थिकसानाको प्रदर्शनमा निर्भर हुनेछ।

यी दुईको उत्कृष्ट बलिङ प्रदर्शनमा श्रीलंकाले शुक्रबार पाकिस्तानलाई एक सय २१ रनमै अलआउट गरेको थियो। ब्याटिङमा भने ओपनर पाथुम निसंकाको प्रदर्शनले विशेष अर्थ राख्नेछ। तर, श्रीलंकाका कप्तान धानुस सनाका भने आफ्नो टोली सबै पक्षमा अब्बल रहेको बताउँछन्।

‘समूह चरणमा एक र सुपर फोरमा तीन गरी हामी लगातार चार खेलमा अपराजित छौं। जसले हाम्रो टोलीको मनोबल बढाएको छ,’सनाकाले भने, ‘तर हामी पाकिस्तानलाई कमजोर रूपमा लिने गल्ती गर्दैनौं। टोली राम्रो बनेको छ। हामीसँग धेरै राम्रो खेलाडी छन्। हामीले जुन तरिकाले प्रतियोगितामा पुनरागमन गरेका छौं। त्यसले नै टोलीको मनोबल बढाउने काम गरेको छ।’ राजधानी कोलम्बोमा अन्दोलन जारी रहँदा श्रीलंकाले केही महिनाअघि पाकिस्तानविरुद्धको दुई टेस्टको शृंखला समेत १÷१ को बराबरीमा टुङगाएको थियो।

‘राष्ट्रको अवस्था प्रतिकूल नहुँदा हामी घरेलु मैदानमा एसिया कप खेल्न वञ्चित भयौं। तर, हामी यो पटक उपाधि जित्दै समर्थकलाई खुसी दिन चाहन्छौं,’ उनले थपे, ‘श्रीलंकाका जनताले टोलीप्रति देखाएको समर्थनले नै यो स्थानमा हामी पुगेका छौं। हामी यो खुसीको अवसर खेर जान दिनेछैनौं।’ पाकिस्तान पनि बाढीबाट पीडित आफ्ना समर्थकलाई एसिया कपको उपाधिको खुसीयाली दिन चाहन्छ। पहिलो खेलमा भारतलाई नतिजा सुम्पिएको पाकिस्तान सुपर फोरमा भने सो हारको बदला लिन सफल भएको थियो। सो हारसँगै भारतको फाइनल यात्रा दुविधामा बढेको थियो।

शुक्रबार श्रीलंकाविरुद्ध तीव्र गतिका बलर नासिम साह र अलराउन्डर सदाब खान अनुपस्थित थिए। फाइनलमा भने उनीहरू टोलीमा फर्कनेछन्। जसले पाकिस्तानको मनोबल बढाउनेछ। यद्यपि, ब्याटिङमा पाकिस्तानले आशा गरेका खेलाडीबाट रन बटुल्न सकेको छैन। कप्तान बाबर आजमले हालसम्म प्रतियोगितामा मात्र ३० रन जोडेका छन्। मोहम्मद रिजवान पाकिस्तानले सबैभन्दा आशा गरेका खेलाडी रहनेछन्। रिजवानले पाँच खेलमा दुई सय २६ रन जोडिसकेका छन्।

पाकिस्तानका प्रशिक्षक मुस्ताक कप्तान आजम लयमा नरहे पनि टोलीप्रति विश्वस्त रहेको बताउँछन्। ‘हामीले भारतविरुद्ध जुन तरिकाको जित निकाल्यो। त्यसले टोलीको मनोब उच्च छ,’उनले भने, ‘हामी उपाधि जित्नेमा ढुक्क छौं।’  

प्रकाशित: २६ भाद्र २०७९ ०१:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App