सोमपाल कामीको अलराउन्ड प्रदर्शनमा नेपालले घरेलु टोली केन्यासँग दोस्रो एकदिवसीय क्रिकेटमा शनिबार १७ रनको जित निकाल्दै शृंखला आफ्नो पक्षमा पारेको छ।
नैरोबीस्थित जिमखाना मैदानमा बलिङ र ब्याटिङमा सोमपाल चलेको दिन नेपालले दोस्रो खेलमा सफलता निकाल्दै तीन खेलको शृंखला २–० ले आफ्नो बनाएको हो। दुई सय ३१ रनको लक्ष्य पछ्याएको केन्या ४६.३ ओभरमा दुई सय १३ रनमै अलआउट भयो। सोमपालले केन्याको शीर्ष क्रमका तीन ब्याट्सम्यानलाई पवेलियन फर्काउँदै घरेलु टोलीमाथि दबाब बनाए। नेपालका ओपनिङ बलर उनले पहिलो बलमै ओपनर सुखदीप सिंहलाई शून्यमा बोल्ड गर्दै केन्यालाई ठूलो झड्का दिए।
कार्यवाहक कप्तान रोहितकुमार पौडेलले दुवै छेउबाट तीव्र गतिका बलर सोमपाल र करण केसीलाई लगातार बलिङ गराउँदै केन्यालाई दबाबमा राख्ने प्रयास गरे। यद्यपि, अर्का ओपनर नेल्सन ओडिम्बो करणमाथि हाबी भए र लगातार बाउन्ड्री हिर्काए। तर, सातौं ओभरमा सोमपालले ओडिम्बोलाई २८ रनमा एलबिडब्लु आउट गर्दै केन्याको रन गति कम गरे। लगत्तै अर्को ओभरमा करणले लयमा रहेका इर्फान करिमलाई ८ रनमा पवेलियनको बाटो देखाए। आठ ओभरमा केन्याले ३९ रन जोड्दा तीन विकेट गुमायो। थप एक रन पनि नजोड्दै केन्याको चौथो विकेट पनि पतन भयो।
नवौं ओभरमा सोमपालले सचिन भुडियालाई खाता नखोल्दै आउट गरेका थिए। तर, ४१ वर्षे कोलिन्स ओबुया र रकिप पटेलले केन्याको इनिङ समाले। यो जोडीले पाँचौं विकेटका लागि ८१ रनको साझेदारी गर्यो। सन् २००३ मा केन्याले विश्वकपको सेमिफाइनलसम्म यात्रा तय गर्दा महत्वपूर्ण योगदान गरेका ओबुयाले दोस्रो खेलमा पनि लय जारी राखे। उनी पाँच चौकासहित ३७ रनमा पाँचौं विकेटका रूपमा आउट भए। रकिपले आक्रामक ब्याटिङ गर्दै केन्यालाई जितनजिक पु¥याए पनि सफलता पाउन सकेनन्।
दीपेन्द्रसिंह ऐरीले ३८.५ ओभरमा रकिपलाई ८२ रनमा आउट गर्दा केन्याको सातौं विकेट पतन भयो। त्यसपछि लुकास ओलुच र सेम नोचे समान १२ रन जोड्दै आउट भए। दशौं नम्बरका ब्याटर जेरार्ड एमवेन्डवाले दुई चौका र एक छक्कासहित २० रन बनाए पनि जित दिलाउन भने सकेनन्।
नेपालको बलिङमा दीपेन्द्रले चार विकेट लिँदा पवन सर्राफ र आदिलले समान एक विकेट लिए। नेपालको स्पिन भने एकदिवसीयमा प्रभावकारी बन्न सकेन। कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग(सिपिएल) खेल्न वेस्ट इन्डिज गएपछि नेपालको स्पिन बलिङको अभाव खड्किरहेको छ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहितको अर्धशतक प्रेरणामा केन्याका लागि दुई सय ३१ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत ग¥यो। दोस्रो खेलमा नेपालका ओपनिङ साझेदारी असफल रह्यो।
अघिल्लो दिन शतक प्रहार गरेका आसिफ शेखलाई आराम दिँदै नेपालले देव खनाललाई अवसर दिएको थियो। उनको प्रदर्शन मध्यम रहे पनि ओपनिङ साझेदारी भने जम्न सकेन। शुक्रबार आसिफ र अर्जुन साउदले एक सय ४१ रनको ओपनिङ साझेदारी गरेका थिए। पहिलो खेलमा अर्धशतक बनाएका अर्जुन दोस्रो खेलमा ५ रनमै पवेलियन फर्किए। यद्यपि, देवले ३७ रन र पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २५ रन जोडे। यो जोडीले ५६ रनको योगदान दियो।
त्यसपछि तेस्रो र चौथो विकेटका लागि साझेदारी बन्न सकेन। पाँच रनको अन्तरमा नेपालले दुई विकेट गुमाउन पुग्यो। यद्यपि, एक छेउबाट रोहितले इनिङ अगाडि बढाए। ४९औं ओभरमा रोहित ७८ रनमा आउट भए।
९५ बलमा उनले सात चौका हिर्काए। मध्य क्रमका बसिर अहमद १७ रन, पवन सर्राफ २ रन र आदिल १४ रनमै आउट हुन पुगे। तर, नवौं नम्बरका सोमपालले १५ बलमा २६ रन जोड्दै इनिङ उकासे। उनको इनिङमा दुई चौका र एक छक्का रह्यो। केन्याको बलिङमा ओडिम्बो, भिराज पटेल र नोचेले समान दुई विकेट लिए। ओलुच, जेरार्ड र रकिपको नाममा समान १/१ विकेट रह्यो।
प्रकाशित: १९ भाद्र २०७९ ००:५६ आइतबार