२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ज्ञानेन्द्रको पुनरागमनमा साउदलाई पहिलो पटक स्थान

ज्ञानेन्द्र मल्ल तस्वीर-क्रिक इन्फो

पूर्वकप्तान तथा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्लको पुनरागमनसँगै यु–१९ क्रिकेट टोलीका विकेटकिपर अर्जुन साउदले पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाएका छन्।

यसै महिनाको अन्तिम सातादेखि केन्यासँग हुने ट्वान्टी–२० र एकदिवसीय क्रिकेट शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले अनुभवी ज्ञानेन्द्र र क्षमतावान् युवा ब्याट्सम्यान अर्जुनसहित १६ सदस्यीय नेपाली टोली घोषणा गरेको हो।

नेपालले केन्यासँग आगामी अगस्ट २५ देखि ३० सम्म नैरोबीमा पाँच खेलको ट्वान्टी–२० क्रिकेट खेल्दै छ। त्यसको दुई दिनपछि नै नेपालले घरेलु टोलीसँग सेप्टेम्बर २ देखि पाँचसम्म तीनवटा एकदिवसीय क्रिकेट शृंखला खेल्ने तय छ।

पछिल्ला समय आइसिसी विश्वकप लिग–२ मा नेपालले लगातार खराब ब्याटिङ सामना गरेपछि अंकतालिकाको शीर्ष पाँचमा बस्न संघर्ष गरिरहेको छ। लिग–२ सकिँदा शीर्ष पाँचभित्र पर्न नसके नेपालले सन् २०१८ देखि प्राप्त एकदिवसीय मान्यता पनि गुमाउनेछ। लिग–२ का बाँकी खेल नेपालले कहिले खेल्ने भन्ने टुङ्गो छैन। त्यसैले लिग–२ अगाडि बलियो नेपाली टोली निर्माण गर्ने क्यानको योजना छ र नेपाली क्रिकेटको छनोटकर्ताले सोही योजना अनुसार टोलीमा केही परि र्वतन गरेका छन्। छनोटकर्ताले पछिल्ला समय नियमित स्थान बनाउँदै आएका ओपनर कुशल भुर्तेलको स्थानमा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्रलाई फर्काएको छ।

विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीका स्थानमा युवा अर्जुनले पहिलो पटक राष्ट्रिय टोलीको ढोका खोलेका छन्। कुशल र विनोद पछिल्ला समय खराब लयबाट गुज्रिएका छन्। कुशलले पछिल्ला ६ अन्तर्राष्ट्रिय क्रिकेटमा २७ रनको योगफल पार गर्न सकेका छैनन्। विनोदले पनि पछिल्ला ९ वटा एकदिवसीय क्रिकेटमा अर्धशतक जोड्न असफल छन्।

इङ्ल्यान्ड र स्कटल्यान्ड भ्रमणमा खराब प्रदर्शन गरेपछि छनोटकर्ताले कुशल र विनोदलाई बाहिर  राखेका हुन्। यी दुई भ्रमणपश्चात् नेपाली टोलीमा अनुभवी ब्याट्म्यानको आवश्यकता देखिएपछि दीपेन्द्र चौधरी प्रमुख रहेको छनोट टोलीले पूर्वकप्तान ज्ञानेन्द्रलाई टोलीमा फर्काएको छ। उनीसँगै क्षमतावान् युवा क्रिकेटर अर्जुन साउदलाई पनि अवसर दिएको छ।

ज्ञानेन्द्रले पछिल्लो पटक गत मार्च २१ मा विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध खेलेका थिए। त्यो खेलमा पनि नेपालले बिर्सनलायक ब्याटिङ गरेपछि युएईसँग लज्जापूर्ण हार सामना गर्नुपरेको थियो। त्यसपछि क्यानले नेपाली टोलीमा व्यापक परिवर्तन गर्ने योजनासहित युवा टोलीलाई अवसर दिइरहे पनि लिग–२ मा सुधार गर्न भने सकिरहेको छैन। नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट पुबुदु दासानायकेले बीचमा नै सम्झौता तोड्दै जिम्मेवारी छाडेपछि क्यानले भारतीय क्रिकेट टोलीका पूर्वअलरान्डर मनोज प्रभाकरलाई सोमबार उनको स्थानमा जिम्मेवारी दिइसकेको छ।

नेपाली क्रिकेट टोली सम्हाल्ने दोस्रो भारतीय प्रशिक्षक बनेका प्रभाकर शुक्रबारसम्म नेपाल आउने तयारीमा रहेको क्यानले जनाएको छ। मुख्य प्रशिक्षकको अनुपस्थितिमा प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरी र वासुदेव जोशीले नेपाली टोलीको चयन गरेका थिए। ‘विनोद र कुशलको पछिल्लो लय राम्रो छैन। हामी टोलीमा केही राम्रो गर्न चाहन्छौं। जब खेलाडीले प्रदर्शन दिन सकेनन् टोलीमा राखेर मात्र हुँदैन। टोलीमा अनुभवी खेलाडीको पनि आवश्यकता छ। त्यसैले ज्ञानेन्द्रलाई टोलीमा ल्याएका हौं,’ प्रमुख छनोटकर्ता दीपेन्द्रले भने, ‘हामीले पछिल्ला समय टोलीभित्र रहेका केही खेलाडीको विकल्प खोजिरहेका छौं। किनकि लिग–२ अगाडि राम्रो टोली बन्नुपर्छ। त्यही योजनाअनुसार केही परिवर्तन गर्दै युवा र अनुभवी ल्याएका हौं।’

ज्ञानेन्द्र र अर्जुसहित नेपाली टोलीमा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल (उपकप्तान), आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, सोमपाल कामी, बसिर अहमद, पवन सर्राफ, साहब आलम, किशोर महतो र विवेक यादव छन्।  

प्रकाशित: २५ श्रावण २०७९ ००:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App