१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित

तीव्र गतिका बलर आदिल आलम र सोमपाल कामी चम्केको दिन नेपालले आइसिसी विश्वकप लिग-२ मा बुधबार स्कटल्यान्डमाथि पाँच विकेटको ऐतिहासिक जित निकालेको छ।

त्रिकोणात्मक शृंखलाका लागि स्कटल्यान्ड भ्रमणमा रहेको नेपालको लिग–२ मा यो आठौं जितसमेत हो। बलिङ चम्किँदा नेपालले पहिलोपटक कुनै पनि फरम्याटको क्रिकेटमा स्कटल्यान्डमाथि जित निकाल्यो। नेपालका लागि तीव्र गतिका बलरले संयुक्त सात विकेट लिए।

सोमपाल र आदिलले ३/३ लिँदा करण केसीको नाममा दुई विकेट रह्यो। टिटवुड ग्लासगोमा १ सय ४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो। यस क्रममा ओपनर आसिफ शेखले ७७ रनको विजयी इनिङ खेले। जितनजिक पुगेपछि उनी २०.४ ओभरमा नेपालको खातामा १ सय २५ रन हुँदा तेस्रो विकेटका रूपमा आउट भए।

उनलाई गाभिन मेनले एड्रियन निलद्वारा क्याच गराए। ६२ बल खेलेका उनको इनिङमा १० चौका र एक छक्का रह्यो। अर्का ओपनर कुशल भुर्तेल २७ रन बनाएर आउट भए। यो जोडीले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाए। रोहितकुमार पौडेल ३४ रनमा अविजित रहँदै जित दिलाउन सफल भए। उनले ३१ बलमा पाँच चौका हिर्काए। अन्य सबै ब्याट्सम्यान सस्तैमा आउट भए पनि मध्यम लक्ष्यका कारण नेपालले क्षति बेहोर्नु परेन। देव खनाल ४ रन, दीपेन्द्रसिंह ऐरी ३ रन र आरिफ शेख १ रनमा नै आउट भए।

पछिल्ला पाँच खेलमा लगातार दोहोरो अंकको रन नजोड्दै दीपेन्द्र आउट भएका छन्। स्कटल्यान्डका लागि अलराउन्ड प्रदर्शन गरेका गाभिनले तीन विकेट लिए। त्यस्तै एड्रियन र रिची बेरिङ्टनले थप १/१ विकेट लिए पनि नेपाललाई जितबाट रोक्न सकेनन्। त्यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्ड ४२.४ ओभरमा १ सय ४४ रनमा नै अलआउट भयो। स्कटल्यान्डको लागि नवौं नम्बरमा ब्याटिङ गरेका गाभिनले करियरकै पहिलो अन्तर्राष्ट्रिय अर्धसतक बनाउँदै आफ्नो टोलीको इनिङमा दरिलो साथ दिए।

 उनी ६४ रनमा नटआउट रहे पनि अर्को छेउबाट विकेट पतन भयो। उनले ५९ बलमा सात चौका र एक छक्का प्रहार गरे। एक समय स्कटल्यान्ड २२.४ ओभरमा ६५/७ को नाजुक अवस्थामा थियो। तर, मार्क वाटले १७ रन, सफ्यान सरिफले १६ र कलुम म्याकलोएडले १३ रन जोड्दै घरेलु टोलीको इनिङ उकास्ने प्रयास गरे। खराब सुरुआत गरेको स्कटल्यान्डले ३३/५ थियो। तर, तल्लो क्रमका ब्याट्सम्यान सानोसानो योगदान दिए। गाभिनले दशौं विकेटको लागि हम्जा ताहिरसँग ४९ रनको साझेदारी गरे। ४३औं ओभरमा दीपेन्द्रले उक्त साझेदारी तोड्दै नेपाललाई राहत दिलाएका थिए।

नेपालको बलिङमा कप्तान सन्दीप लामिछानेले दुई र दीपेन्द्रले थप एक विकेट लिए। शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो। नेपालले अब शनिबार नामिबिया र आइतबार स्कटल्यान्डसँग खेल्नेछ। यो जितसँगै नेपाल लिग–२ को अंकतालिकामा १७ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ।

प्रकाशित: ३० असार २०७९ ०१:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App