३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

तस्करको नामबाट चर्चा पाएका धावक फराह

चार पटकका ओलम्पिक च्याम्पियन धावक मोहम्मद फराहले मानव तस्करहरूले आफूलाई बाल्यकालमा गैरकानुनी रूपमा बेलायत ल्याएको र त्यहाँ घरेलु कामदारका रूपमा अन्य बालबालिका हेर्न राखिएको खुलासा गरेका छन्।

फराहको जीवनीबारे निर्माण भएको वृत्तचित्रमा उनले आफ्नो असली नाम हुसेन अब्डी खाहिन रहेको पनि उल्लेख गरे। तस्करहरूले आफूलाई पूर्वी अफ्रिकी राष्ट्र जुबिटीबाट बेलायत ल्याएको उनको भनाइ छ। सो वृत्तचित्रमा उनलाई मानव तस्करहरूले कसरी बेलायतसम्म ल्याए भन्ने कुरा देखाइएको छ।

बिबिसी र रेडबुल स्टुडियोले निर्माण गरेको वृतचित्र बिबिसीमा बुधबार प्रसारण हुँदै छ। बिबिसीले एक अपरिचित महिलाले फराहलाई ८/९ वर्षको हुँदा भ्रमणको फर्जी कागजात बनाएर बेलायत ल्याएको र त्यसमा उनको तस्बिर सहित मोहम्मद फराह नाम दिएको उल्लेख गरेको छ।

उक्त महिलाले फराहलाई पश्चिम लन्डनस्थित एक अपार्टमेन्टमा लगेका र त्यहाँ उनको बच्चा हेरचाह गर्न राखेकी थिइन्।

१२ वर्षसम्म फराहलाई विद्यालय जान रोक लगाइएको थियो। ‘मलाई सो परिवारको सदस्यका रूपमा व्यवहार गरिँदैनथ्यो,’फराहले वृतचित्रमा भनेका छन्, ‘मैले पेट पाल्नकै लागि ती बच्चाहरूको हेरचाह गर्नुपर्ने थियो। उनीहरूलाई नुहाउने, खान बनाएर खुवाउने र  सरसफाई गरिदिने मेरो जिम्मेवारी थियो,’उनले भनेका छन्। फराहले तीन पटक ओलम्पिकमा ब्रिटेनको प्रतिनिधित्व गरेका छन्।

उनले सन् २०१२ को लन्डन ओलम्पिक र २०१६ को रियो ओलम्पिकमा पाँच हजार र १० हजार मिटरमा स्वर्ण पदक जितेका थिए। यसअघि फराहले सोमालियाको शरणार्थीको रूपमा आफ्ना अविभावकसँग बेलायत आएको दाबी गर्दै आएका थिए। तर, सो वृत्तचित्रमा भने उनले आफ्ना अविभावक कहिले पनि बेलायत नआएको बताएका छन्। फराह चार वर्षको हुँदा सोमालियामा उनको बुबाको हत्या भएको र उनको आमा, अन्य दुई दाजुभाई भने सोमिल्यान्डमै रहेको बताइएको छ।

त्यो परिवारले विद्यालय जान दिएपछि मात्र आफ्नो भाग्य बदलिएको उनले बताएका छन्। विद्यालयमा भर्ना हुँदा उनी कमै मात्र अंग्रेजी बोल्न सक्ने थिए। विद्यालयमा हुने ट्य्राकको दौडमा भने उनी अब्बल थिए।

उनले आफूलाई मानव तस्किरीले बेलायत ल्याएको कुरा आफ्ना शिक्षकलाई सुनाएका थिए। तर सार्वजनिक रूपमा भने कहिले यसबारे खुलासा गरेका थिएनन्। ‘मेरो खेलमा सुधार भइरहेको थियो। तर परिवारको मायाको भने कमी भैरहन्थ्यो,’उनले भने, ‘मेरो परिवारलाई सम्झँदै मेरो काँधमा धेरै जिम्मेवारी छ भन्दै मिहिनत गरें।’

सार्वजनिक रूपमा आफ्नो बेलायतसम्मको यात्राका बारेमा बोल्दा डिपोर्ट हुन सक्ने भयले अहिलेसम्म यो कुरालाई गोप्य राखिएको फराहले बताएका छन्। फराहले सन् २००० मा बेलायतको नागरिकता पाएका थिए। उनले सन् २००८, २०१२ र  २०१६ मा बेलायतबाट ओलम्पिकमा प्रतिनिधित्व गरेका थिए।

प्रकाशित: २९ असार २०७९ ०५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App