१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दुई दिनअघि बितेकी हजुरआमालाई जित समर्पण

आफ्नी हजुरआमा बितेको दुई दिनपछि ब्रिटिस टेनिस स्टार क्याटी बोल्टर विम्बल्डनमा प्रतिस्पर्धाका लागि घाँसे कोर्टमा उत्रिइन्। किनकि उनी आफ्नी हजुरआमाको मनपर्ने खेल टेनिस प्रतियोगिता गुमाउन चाहन्नथिन्।

सायद उनकी हजुरआमा पनि टेनिस कोर्टमा नै बसेर बोल्टरको प्रतिस्पर्धाका क्रममा भएका उत्साह, भावना र खेलको रोमाञ्चक मोड हेर्छिन् भन्ने उनको आशा थियो होला? अन्ततः सेन्टर कोर्टमा बोल्टरले जित र चिन् र त्यसपछि उनी निकै भावुक पनि भइन्।

आफ्नो मान्छे गुमेको पीडाका बीच उनी अल इङ्ल्यान्ड क्लबमा गत वर्षको विम्बल्डन उपविजेताविरुद्ध उत्रिएकी थिइन्। त्यसका कारण पनि उक्त खेलमा बोल्टरमाथि दबाब हुनु स्वाभाविक नै हो। तर, कोर्टमा दृश्य भिन्न देखियो। सुरुमा उनी पछि परिन्।

तथापि, यादगार पुनरागमन गर्दै उनी जित रच्न सफल भइन् र आफ्नी हजुरआमालाई सुन्दर उपहार सुम्पिइन्। विश्वको छैटौं वरीयता प्राप्त कारोलिना प्लिसकोभासँग उनले पहिलो सेट ६-३ ले सहजै गुमाइन्। तर, उनले दोस्रो सेट ७–६ (७–४) र तेस्रो सेट ६–४ ले आफ्नो बनाउँदै विश्वको शीर्ष १० भित्र रहेकी प्लिसकोभालाई स्तब्ध बनाइन्।

‘केही दिन मेरा लागि निकै गाह्रो समय रह्यो,’ इङ्ल्यान्डको लेस्टरकी बोल्टरले भनिन्, ‘मैले आफ्नो भावुकता नियन्त्रण गर्न निकै संघर्ष पनि गरें। त्यो निकै दयनीय अवस्था थियो। तर, मैले टेनिसप्रति नै ध्यान केन्द्रित गर्ने प्रयास गरें।’ आफ्ना हजुरबुबाले यो प्रतिस्पर्धा गर्न व्यवस्था मिलाएकोमा उनी आफूलाई भाग्यमानी पनि ठान्छिन्। ‘म भाग्यमानी रहेछु। मेरो  हजुरबुबाले यस्तो अवस्थामा पनि यो अवस्था सिर्जना गरिदिनुभयो,’ बोल्टर भन्छिन्।

यो जितले २५ वर्षीया बोल्टरलाई पहिलोपटक कुनै पनि ग्रान्ड स्लामको तेस्रो चरणमा यात्रा तय गरायो। वाइल्ड कार्ड मार्फत विम्बल्डन खेल्ने अवसर पाएकी १ सय १८औं वरीयता प्राप्त बोल्टरका लागि यो सफलता निकै अविस्मरणीय बन्यो। उनले पछिल्लो दुई हप्ताभित्र नै प्लिसकोभालाई दुई पटक नै स्तब्ध पारिन्।

यसअघि यसै विम्बल्डन आगाडि भएको अभ्यास प्रतियोगितामा पनि बोल्टरले प्लिसकोभालाई हार चखाएकी थिइन्। विश्वको शीर्ष १० भित्रका खेलाडीमाथि उनको यो पहिलो विजय हो। ‘मैले मेरा भावुकता मात्रै नियन्त्रण गरिनँ। आफ्नो लयलाई पनि नियन्त्रणमा राखेँ,’ बोल्टरले भनिन्, ‘पछि परेको स्थितिबाट खेलमा फर्कन निकै गाह्रो नै हुन्छ। जुन परिस्थिति बलियो भएको थियो, त्यसैले नै आज मलाई जित दिलायो जस्तो महसुस भएको छ।’

बोल्टरले आगामी चरणमा फ्रान्सकी हार्मोनी टानविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्। टानले पहिलो चरणमा सात पटककी विम्बल्डन च्याम्पियन सेरेना विलियम्सलाई स्तब्ध बनाएकी थिइन्। दोस्रो चरणमा पनि भने उनले ३२औं वरीयता प्राप्त सारा सोरिब्स टोर्मोलाई ६–३ र ६–४ ले हराउँदै तेस्रो चरणको यात्रा तय गरेकी हुन्।

‘केही घरेलु समर्थकले आगामी खेलमा उनलाई (बोल्टर) समर्थन गर्नेछन्। त्यसका लागि म पनि पूर्ण तयार छु,’ आगामी खेलका बारे टानले भनिन्, ‘किनकि सेरेनासँग खेल्दा पनि धेरैजसो समर्थकले उनलाई समर्थन गरेका थिए। बोल्टरलाई पनि त्यो साथ मिल्नेछ।’ घरेलु सेन्टर कोर्टमा शनिबार पनि बोल्टरपछि परेको खण्डमा ती समर्थकका समर्थनले उनलाई ठूलो प्रेरणा पनि मिल्नेछ।

प्रकाशित: १८ असार २०७९ ०७:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App