७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

इन्डोनेसियाविरुद्ध नेपाल निरीह

३३औं मिनेटमा सुमन अर्यालले दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको नेपाली फुटबल टोली बुधबार एएफसी एसियन कप छनोटअन्तर्गत इन्डोनेसियासँगको खेलमा ७–० को फराकिलो अन्तरले पराजित भएको छ।

समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल इन्डोनेसियाँसग ७–० को फराकिलो अन्तरले पराजित भएको हो। एएफसी एसियन कपको ढोका बन्द भइसकेको अवस्थामा पनि नेपाल इन्डोनेसियाविरुद्ध निकै निरीह देखिएको थियो। जाबिर अल अहमद स्टेडियममा इन्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल खान पुग्यो।

बलियो इन्डोनेसियाले नेपाललाई पहिलो मिनेटबाट नै दबाब दिएर खेलेको थियो। सोही क्रममा खेलको छैटौं मिनेटमा मुहमद दिमास द्रजाडले गोल गर्दै इन्डोनेसियालाई सुरुआती अग्रता दिलाएका थिए। सुरुआतमा गोल खाएसँगै दबाबमा परेको नेपाली टोलीले पहिलो हाफमा इन्डोनेसियाका केही सशक्त प्रहारलाई विफल पारेको थियो।

यो क्रममा नेपालले रक्षात्मक बन्नुबाहेक अन्य कुनै राम्रो अवसर निकाल्न सकेन। ३३औं मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल बाँकी समय १० खेलाडीमा समेटिएको थियो। कम खेलाडी भएको फाइदा इन्डोनेसियाले बाँकी समयमा भरपूर प्राप्त गर्‍यो। पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा वितान सुलेमानले गोल गर्दै इन्डोनेसियालाई २–० को अग्रता दिलाएका थिए।

पछि परे पनि दोस्रो हाफमा गोल गर्ने रणनीतिका साथ मैदान उत्रिएको नेपाल थप दबाबमा पर्‍यो। पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन। ५४औं मिनेटमा आर्यन्टोले गोल गर्दै इन्डोनेसियालाई ३–० को अग्रता दिलाए। लगत्तै ५५औं मिनेटमा साद्दिल रामदानीले गोल गर्दै टोलीको अग्रता ४–० को बनाउँदा नेपाली टोलीमा तालमेलको अभाव झनै खड्कियो।

८०औं मिनेटमा एल्कन बाग्गोटले गोल गर्दै इन्डोनेसियाको अग्रता ५–० को बनाउँदा ८१औं मिनेटमा सुलेमानले व्यक्तिगत दोस्रो गोल तथा इन्जुरी समयमा मार्सेलिनो फेर्डिनानले गोल गर्दै इन्डोनेसियाका लागि ७–० को फराकिलो जित निश्चित गरे। यस हारसँगै समूह ‘ए’ मा रहेको नेपालले अंकविहीन रहँदै प्रतियोगिताको अन्त्य गरेको छ। नेपाल समूहको पुछारमा रह्यो। छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो।

यस्तै दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोलअन्तरले पराजित भएको थियो। नेपालविरुद्धको फराकिलो जितसँगै इन्डोनेसियाले ३ खेलमा ६ अंक जोड्यो। इन्डोनेसिया दोस्रो स्थानमा रह्यो। अन्तिम खेलमा इन्डोनेसियाले नेपाललाई ७–० ले पराजित गरेसँगै आगामी वर्ष चीनमा हुने एएफसी एसियन कप २०२३ मा छनोट हुने २४ टोलीको टुंगो पनि लागेको छ।

प्रतियोगितामा यसअघि नै १२ टोलीले स्थान पक्का गरिसकेका थिए। र, बाँकी ६ स्थानका लागि तेस्रो चरणमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको थियो। जसको शीर्ष दुई स्थानमा रहने टोलीले एसियन कप खेल्ने समीकरण थियो।

सोही समीकरणअनुरूप तेस्रो चरणको छनोटमा समूह ‘ए’ बाट इन्डोनेसिया र जोर्डन, समूह ‘बी’ बाट प्यालेस्टाइन र फिलिपिन्स, समूह ‘सी’ बाट उज्बेकिस्तान र थाइल्यान्ड, समूह ‘डी’ बाट भारत र हङकङ, समूह ‘इ’ बाट बहराइन र मलेसियासँगै समूह ‘एफ’ बाट ताजिकिस्तान र किर्गिस्तानले क्रमशः समूह विजेता र उपविजेताको हैसियतमा प्रतियोगितामा आफ्नो स्थान पक्का गरे।

प्रकाशित: २ असार २०७९ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App