coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्रतीक्षामा युवा टोलीको प्रदर्शन

नेपालले बुधबारबाट कुवेतमा सुरु हुने एएफसी एसियन कप क्वालिफायरको पहिलो खेलमा जोर्डनको सामना गर्दै छ। टोलीका मुख्य खेलाडीको अनुपस्थितिमा युवा खेलाडीले प्रतियोगितामा कस्तो प्रदर्शन गर्छन् भन्ने सबैका लागि चासोको विषय बनेको छ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादका कारण नेपालको बन्द प्रशिक्षण सुरुमै प्रभावित बनेको थियो। टोलीमा नियमित कप्तान तथा गोलकिपर किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, रोहित चन्द, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विशाल राई, विमल घर्तीमगर, तेज तामाङ, दिनेश राजवंशी, सुमन लामाजस्ता टोलीका प्रमुख खेलाडी अहिले टोलीबाहिर छन्।

बन्द प्रशिक्षणमा अल्मुताइरीसँग असन्तुष्टि जनाउँदै उनीहरूले बन्द प्रशिक्षण छोडेका थिए। अल्मुताइरीले थप १७ खेलाडीलाई समेट्दै बन्द प्रशिक्षणलाई निरन्तरता दिएका थिए। त्यसो त अल्मुताइरीले बन्द प्रशिक्षण सुरु गर्नुअघि नै नेपालले एएफसी एसियन कप क्वालिफायर पार गर्न नसक्ने बताएका थिए।

अल्मुताइरीले जोर्डनविरुद्धको खेलका लागि नेपाली टोली दबाबमा नरहेको र स्वाभाविक खेल खेल्ने बताए। ‘हामी दबाबमा छैनौं,’ अल्मुताइरीले भने, ‘हामी युवा टोलीबाट सन् २०२६ को विश्वकप छनोटको तयारी गरिरहेका छौं। हामीसँग टोलीमा ११ जना नयाँ खेलाडी छन् र उनीहरूको औसत उमेर २१ रहेको छ। जोर्डन बलियो टोली हो। तर हामी सहज हार मान्ने पक्षमा छैनौं। हामी उनीहरूविरुद्ध स्वाभाविक प्रदर्शन गर्छौं। मलाई लाग्छ जोर्डन समूह ‘ए’ को शीर्ष स्थानमा बस्दै एएफसी एसियन कपमा छनोट हुनेछ। दोस्रो स्थानका लागि भने आयोजक कुवेत र इन्डोनेसियाबीच प्रतिस्पर्धा हुनेछ।'

प्रत्येक समूहका शीर्ष टोली र उपविजेतामध्येका उत्कृष्ट ५ टोली एएफसी एसियन कप २०२३ का लागि छनोट हुनेछन्। जोर्डनका प्रशिक्षक अडनान हमादले टोलीले राम्रो तयारी गरेकाले सुखद नतिजासहित प्रतियोगितामा सुखद सुरुआत गर्नेमा विश्वस्त रहेको बताए।

‘हामीले प्रतियोगिताका लागि दोहामा बन्द प्रशिक्षण राखेका थियौं,’ हमादले भने, ‘जहाँ हामीले दुईवटा अभ्यास खेल खेलेका थियौं। समूह ‘ए’ बाट कुवेतसँगै जोर्डनको अघिल्लो चरण प्रवेश सम्भावना बलियो देखेको छु।’ नेपालले समूहको दोस्रो खेलमा जेठ २८ गते घरेलु टोली कुवेत र जेठ ३१ मा इन्डोनेसियाविरुद्ध समूहको अन्तिम खेल खेल्नेछ।

प्रकाशित: २५ जेष्ठ २०७९ ०३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App