१६ चैत्र २०८० शुक्रबार
खेल

नेपाल–अमेरिका सम्बन्ध ७५औं वार्षिकोत्सवः नेपाली क्रिकेटले उत्सव मनायो

नेपाल–अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औं वर्षका अवसरमा नेपाली क्रिकेटले आइतबार उत्सव मनाएको छ।

नेपाली क्रिकेट टोलीले अमेरिका भ्रमण गर्न लागेको समय नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै दुई देशबीच ७५औं वर्ष कूटनीतिक सम्बन्धको उत्सव मनाएको हो।

कार्यक्रममा नेपालका लागि अमेरिकी दूतावासको प्रेस तथा सांस्कृतिक शाखा प्रमुख ग्यारेट ई. विल्करसन, दूतावासका पब्लिक इन्गेजमेन्ट विशेषज्ञ ध्रुव शाह, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त मल्ल र कोषाध्यक्ष रोशन सिंहको उपस्थिति रहेको थियो। सो कार्यक्रममा विल्करसनले नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई क्रिकेट ब्याट हस्तान्तरण गरेका थिए।

सो अवसरमा विल्करसनले नेपालको अमेरिका भ्रमणपश्चात् अन्य क्षेत्रसँगै खेलकुदमा पनि नयाँ सम्बन्ध विकास हुने आशा व्यक्त गरे। ‘नेपाल र अमेरिकाबीचको सम्बन्ध एक उदाहरण बनिरहेको छ। नेपाली क्रिकेटको माध्यमबाट पनि यसले थप उचाइ लिनेछ,’ विल्करसन भने, ‘नेपालको क्रिकेटबाट अमेरिकाले केही सिक्न पनि पाउनेछ। साथै अमेरिकामा नेपाली टोलीको प्रदर्शन राम्रो हुनेमा पनि विश्वास छ,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि यो भ्रमणपश्चात् दुई देशबीच खेलकुदको माध्यमबाट नयाँ सम्बन्ध विकास हुनेमा विश्वास व्यक्त गरे।

‘टिम स्पर्धाका रूपमा अमेरिकामा प्रतिस्पर्धा गर्ने नेपाल क्रिकेट टोली पहिलो हो। साथै आज क्रिकेटको तर्फबाट दुईबीच ७५औं वर्षको कूटनीतिक सम्बन्धको अवसरमा कार्यक्रम गर्न पाउँदा खुसी छौं। खेल माध्यमबाट पनि दुई देशलाई जोड्न यो कार्यक्रम गरेका हौं,’ अध्यक्ष चन्दले भने, ‘त्यहाँ रहेका नेपाली समाजको पहलमा नेपालले केही अभ्यास खेल पनि खेल्नेछ।’ नेपालले आगामी जुन ९ देखि अमेरिकामा आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृंखला टेक्सासमा खेल्दै छ। उक्त शृंखलामा नेपालसहित घरेलु टोली अमेरिका र ओमान छन्।

सन् २००९ देखि अमेरिकासँग क्रिकेट खेल्ने थालेको नेपालले सन् २०२० को फेब्रुअरीमा पनि लिग–२ अन्तर्गत नै अमेरिकालाई घरेलु मैदानमा आतिथ्य गरेको थियो। घरेलु मैदानमा नेपालले अमेरिकासँगको दुई खेलमा नै जित दर्ता गरेको थियो। सन् २०२३ को विश्वकप यात्राका रूपमा रहेको विश्वकप लिग–२ मा पनि नेपाल सुखद नतिजा प्राप्त गर्ने लक्ष्यमा छ। सात टोली सम्मिलित आइसिसी विश्वकप लिग–२ को अंकतालिकामा नेपाल छैटौं स्थानमा छ। अंकतालिकाका शीर्ष तीन राष्ट्रले विश्वकप क्वालिफायरमा स्थान बनाउनेछन्।

प्रकाशित: ९ जेष्ठ २०७९ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App