७ वैशाख २०८१ शुक्रबार
खेल

जितबाट युनाइटेडका समर्थक शान्त

ब्रेन्टफोर्डका खेलाडीविरुद्ध बल छलाउँदै म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो (रातो) । तस्बिरः एपी

इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डमाथि जित निकाल्दै म्यानचेस्टर युनाइटेडले क्लबका मालिक ग्लेजर परिवारविरुद्ध आफ्ना समर्थकको आक्रोश शान्त पार्ने प्रयास पारेको छ।

खेलअगावै समर्थकले युनाइटेडका मालिक ग्लेजर परिवारविरुद्ध नाराबाजी गरेका थिए। तथापि, युनाइटेडले बे्रन्टफोर्डमाथि ३–० को जित निकाल्दै आफ्ना समर्थकको आक्रोशलाई शान्त पार्ने प्रयास गरेको छ। राल्फ राग्निकको टोली युनाइटेडले पछिल्ला सात खेलमध्ये दोस्रो जित निकालेपछि युनाइटेडमा भएको तनावपूर्ण स्थितिलाई मत्थर बनाउने काम गर्‍यो।

ब्रुनो फर्नान्डेसले खेलको सुरुआतमै गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफमा भने युनाइटेडले दुई गोल थप्यो। क्रिस्टियानो रोनाल्डोले अर्को गोल थप्दा फ्रान्सेली डिफेन्डर राफाइल भारेनले युनाइटेडका लागि पहिलो गोल गरे।

यस सिजन घरेलु भूमिमा अन्तिम जित निकाले पनि युनाइटेड अंकतालिकाको छैटौं स्थानमा नै सीमित छ। लिगमा दुई खेल बाँकी छँदा युनाइटेड शीर्ष चारको लागि अभैm पाँच अंकले पछि पर्दा च्याम्पियन्स लिगको आशा झीनो छ। बे्रन्टफोर्डविरुद्ध जितअगावै युनाइटेडका समर्थकले क्लबका अमेरिकन मालिकविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले ग्लेजर परिवारमाथि आपत्तिजनक प्रचार सामग्री प्रस्तुत गरे। तर, त्यो जितले केही मात्रामा भने युनाइटेडका समर्थकलाई शान्त बनाउन पर्याप्त रह्यो। ‘पोसेसनका हिसाबले पनि आजको प्रदर्शन यो वर्षकै राम्रो रह्यो। हाम्रा समर्थकलाई हामीले देखाउन खोजेको प्रदर्शन पनि यही हो,’ राग्निकले भने।

उपाधिविहीन युनाइटेडका लागि यो वर्ष निकै निराशाजनक रह्यो। युनाइटेडले सन् २०१३ देखि प्रिमियर लिगको उपाधि जित्ने सकेको छैन। युनाइटेडले कुनै पनि प्रतियोगिताको उपाधि जित्न नसकेको पनि पाँच वर्ष बितिसकेको छ। ओले गनर सोल्सजायर बर्खास्त भएपश्चात् टोली समाल्न आएका राग्निकले युनाइटेडलाई एउटै लय र नतिजामा अगाडि बढाउन सकेनन्। ‘पछिल्ला चार या पाँच हप्ता जुन तरिकाले प्रदर्शन भइरहेको छ, त्यसप्रति म खुसी भने छैन।

हाम्रो मुख्य समस्या नै एकरूपतामा कमी रह्यो,’ राग्निकले भने,‘केही उत्कृष्ट खेलाडीले क्लब छाड्दै छन्। त्यसैले अब हामीलाई राम्रा खेलाडीको आवश्यकता पनि छ।’ आगामी ट्रान्सफरमा क्लबले केही खेलाडी भित्र्याउनुपर्ने आवश्यता रहेको पनि राग्निकले औंल्याएका छन्। त्यसका लागि क्लबले संयुक्त प्रयासमा काम गर्ने उनको भनाइ छ।

प्रकाशित: २१ वैशाख २०७९ ०१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App