१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

सुदूरपश्चिम विजयी

सिमरा गोल्डकपको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई स्तब्ध पार्दै धनगढीको सुदूरपश्चिम– ११ ले जगदम्बा १२औं सिमरा गोल्डकपमा विजयी सुरुआत गरेको छ।

सिमरा रंगशालामा बिहीबार सुदूरपश्चिमले फ्रेन्ड्सलाई ३–१ ले पराजित गरेको हो। जितसंगै सुदूरपश्चिम प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरको छ। सुदूरपश्चिमको जितमा धनराज थापा, दीपांकराज सिंह र फागुराम थारुले समान एक गोल गरे।

फ्रेन्ड्सका लागि प्रेमबहादुर भण्डारीले एक गोल फर्काए। खेलको सुरुदेखि फ्रेन्ड्सविरुद्ध आक्रामक देखिएको सुदूरपश्चिमले २२औं मिनेटमा अग्रता लिएको थियो। डी बक्सभित्रबाट धनराजले प्रहार गरेको बलले सीधै जाली चुमेको थियो। खेलको ५४औं मिनेटमा दीपांकराज सिंहले प्रहार गरेको बल फ्रेन्ड्सका गोलरक्षक अभिषेक बरालले सहजै नियन्त्रणमा लिन खोज्दा जाली चुम्न पुगेको थियो। डी बक्सबाहिरबाट थापाले प्रहार गरेको बल बरालको हातबाट फुस्किएर गोल भएको थियो।

सुदूरपश्चिमविरुद्ध खेलको ८२औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सले खेल २–१ को स्थितिमा ल्याएको थियो। फ्रेन्ड्सका प्रेमबहादुर भण्डारीले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको बलले सीधै जाली चुमेको थियो। भण्डारीको आकर्षक गोलबाट फ्रेन्ड्सले खेलमा फर्कन खोजे पनि सुदूरपश्चिम लगत्तै तेस्रो गोल थपेको थियो। ८३औं मिनेटमा फ्रेन्ड्सको कमजोर रंक्षापंक्तिको फाइदा उठाउँदै फागुरामले सुदूरपश्चिमका लागि गोल गरेका थिए।

उनको गोलसंगै सुदूरपश्चिमले फ्रेन्ड्समाथि ३–१ को सहज जित निकालेको हो। खेलको म्यान अफ दी म्याच सुदूरपश्चिमका दीपांकराज सिंह घोषित भए। उनले नगद पाँच हजार र ट्रफी प्राप्त गरे। प्रतियोगिताअन्तर्गत शुक्रबार बिएफसी चितवन र बाग्मती युवा क्लब सर्लाहीबीच खेल हुनेछ। यसअघि प्रतियोगिताको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गरेका थिए। सो अवसरमा मुख्यमन्त्री गद्दीले सिमरा रंगशालाको पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।  

चैत १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन्। आयोजकले यस वर्ष प्रथम पुरस्कार राशिमा तीन लाख र द्वितीय पुरस्कारमा एक लाख पचास हजार वृद्धि गरेको छ। ११औं संस्करणमा प्रथम पुरस्कार सात लाख र द्वितीय पुरस्कार तीन लाख पँचास हजार थियो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल वा स्कुटर प्राप्त गर्ने आयोजक नवजनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए। प्रतियोगिता अवधिभरि उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कारतर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगद प्राप्त गर्नेछन्। आयोजकले यस वर्ष पनि उदीयमान स्थानीय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गरिने लामाले बताए।

प्रकाशित: १२ चैत्र २०७८ ०२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App