१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

चैत ११ देखि मिल्स गोल्डकप

विराटनगरमा चैत दोस्रो सातादेखि आयोजना हुन लागेको दोस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरण रहेको छ।  

शनिबार मिल्स गोल्डकप फुटबल ट्रष्टले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको हो। प्रतियोगिताका संयोजक किशोर सुब्बाले चैत १२ देखि १९ गतेसम्म जुट मिलको खेल मैदान हुने प्रतियोगिताको अन्तिम चरणमा पुगेको बताए। ‘रानी मिल्स एरियाको एतिहासिक पहिचान गराऔं। अतितदेखि वर्तमानसम्म फुटबल खेलको गरिमा बढाऔं,’ भन्ने मूल नाराका साथ प्रतियोगिता गर्न लगिएको हो।  

‘मिल्स एरिया एउटा खेलाडी उत्पादन गर्ने थालोको रुपमा विगतमा रहेको थियो,’ संयोजक सुब्बाले भने, ‘पछिल्लो समय विभिन्न कारणहरु गर्दा खेलाडी उत्पादन भएनन्। यहाँबाट फुटबलका मात्रै होइन, अन्य खेलका अन्तर्राष्ट्रिय खेलाडी जन्मिएको छ।’ यस क्षेत्रमा नियमित रुपमा फुटबलसँग अन्य खेल र प्रतियोगिता आयोजना गर्दै पुनः मिल्स एरियालाई एउटा राम्रो खेलाडी उत्पादन गर्ने थलोको रुपमा विकास गर्ने सोचका साथ अघि बढेका छौं, संयोजक सुब्बाले भने।  

‘सरकारको साथ सहयोग पाए विराटनगरको दक्षिण क्षेत्रमा एउटा रंगशालासहित एकेडेमी बनाउने थियौं,’ संयोजक सुब्बाले भने, ‘सीमा क्षेत्रसँग जोडिएको भएर पनि यहाँका युवाहरु कुलतमा फस्ने डर छ। त्यस कारण यहाँ एउटा सबै खेललाई समेटर एकेडेमी सञ्चालन गर्न सके सुन्दर सामाज निर्माण गर्नुका साथ पुनः राम्रा खेलाडी उत्पादन गर्न सकिथ्यो।’ अहिले हामीलाई आर्थिक समस्या परेका कारण प्रदेश स्तरीय गोल्डकप आयोजना गर्न लागेको हौं, सुब्बले भने, ‘अगामी वर्ष यस गोल्डकपको स्तर वृद्धि गर्दै राष्ट्रिय ‘ए’ डिभिजन क्लबलाई समेत समावेश गर्ने आयोजना रहेको छ।’  

प्रतियोगितामा प्रदेश १ र मधेस प्रदेशका गरी ८ वटा टिमको सहभागिता रहेको छ। धरानको गोधुली क्लब, मोरङको उर्लाबारी ११, उदयपुरको गाईघाट ११, विराटनगरको साइनो स्पोर्टस क्बल, धरानको एन्फा एकेडेमी, झापाको दमक एकेडेमी, सशस्त्र प्रहरी बल पकली र सिरहाको गोलबारज प्रतिभा फुटबल क्लबको सहभागिता रहेको आयोजकले जनाएको छ।  

प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले नगद १ लाख १ हजार रुपैयाँका साथ ट्रफी प्राप्त गर्ने छन्। यसअघि प्रथम संस्करणमा विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गरेका थिए। प्रतियोगिताको व्यक्तिगत पुरस्कारतर्फ म्यान अफ द सिरिज, म्यान अफ द म्याच, नव उदयमान एक जना खेलाडी, प्रशिक्षक, गोलरक्षक, डिफेन्स, मिड फिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई नगद पुरस्कार दिइने छ।  

प्रतियोगिता आयोजना गर्न २५ लाख ३ हजार रुपैयाँ अनुमानित खर्च रहेको र गत वर्ष भएको पहिलो संस्करणमा ३७ हजार ४ सय ७२ रुपैयाँ मुनाफा गरेको कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए। प्रतियोगिताको पहिलो संस्करण सशस्त्र प्रहरी बलको एपिएफले साइनो स्पोर्टस क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो।

प्रकाशित: ५ चैत्र २०७८ १३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App