coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अञ्जन झापा एफसीका मार्की खेलाडी

नेपाल सुपर लिग (एनएसएल) को टोली झापा एफसीले आइतबार नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई मार्की खेलाडीको रूपमा अनुबन्धित गरेको छ। नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट कम्पनीले आयोजना गर्ने प्रतियोगिताको दोस्रो संस्करण चैत अन्तिम साताबाट सुरु हुँदै छ।

अञ्जनसँगको सम्झौतापछि झापा एफसीका तर्फबाट महासचिव सुजन गौतमले उनी उत्कृष्ट खेलाडी भएकाले टोलीले भित्र्याएको बताए। ‘अञ्जन अहिले नेपाली राष्ट्रिय फुटबल टोलीका उत्कृष्ट खेलाडीमध्येका एक हुन्, त्यसैले टोलीले उनलाई मार्की खेलाडीका रूपमा अनुबन्धन गरेको हो,’ गौतमले भने, ‘हामी शुक्रबार हुने अक्सनमा भने झापाका खेलाडीलाई प्राथमिकतामा राख्दै उनीहरूमाथि बोली लगाउँछौं। अञ्जनको उपस्थितिले टोलीले उत्कृष्ट नतिजा ल्याउने आशा गरेका छौं। हाम्रो योजना भनेको नेपाली फुटबलको विकास गर्ने हो।’

झापा एफसीले अञ्जनलाई मार्की खेलाडीका रूपमा अनुबन्धन गर्न महँगो रकम खर्चिएको दाबी गरे पनि रकम कति हो भन्नेबारे भने केही खुलाएको छ। शनिबार मात्र ललितपुर सिटी एफसीले राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्तीमगरलाई ६ लाख रूपैयाँमा मार्की खेलाडीका रूपमा अनुबन्धन गरेको थियो।

अञ्जनले पहिलो संस्करणको एनएसएलमा ललितपुर सिटी एफसीको कप्तानी गरेका थिए। अञ्जनले झापा एफसीको भिजन मन परेकाले टोलीको अनुबन्धन प्रस्ताव स्वीकार गरेको बताए।

झापा एफसीले प्रशिक्षक भित्र्याउने विषयमा पनि छलफल जारी रहेकाले छिट्टै एक समारोहका बीच प्रशिक्षक सार्वजनिक गर्ने जनाएको छ। पहिलो संस्करणमो एनएसएलमा काठमाडौं रेजर्स, चितवन एफसी, धनगढी एफसी , विराटनगर एफसी, ललितपुर सिटी एफसी, विरागनगर एफसी र बुटवल–लुम्बिनी एफसी गरी ७ टोलीको सहभागिता थियो। काठमाडौं रेजर्सले धनगढीलाई निराश पार्दै पहिलो संस्करणको उपाधि जितेको थियो। यस सिजनका लागि झापा एफसीसँगै वीरगन्ज युनाइटेड र मेची गरी तीन नयाँ टोली थपिएका छन्। 

प्रकाशित: १६ फाल्गुन २०७८ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App