१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

च्यासलको रेलिगेसनमा विराटको नमिठो अनुभव

शीर्ष डिभिजनमा उक्लिएको तेस्रो सिजनमै च्यासल युथ क्लबले सो हैसियत गुमाएको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगको १२औं चरणको खेलमा रेलिगेसन जोगाउन संघर्षरत फ्रेन्ड्स क्लबलाई २–१ को नतिजा सुम्पिएसँगै च्यासलले ‘ए’ डिभिजन हैसियत गुमाएको हो।

च्यासलका कप्तान विराट महर्जनका लागि पनि यो नमिठो अनुभव रह्यो। विसं २०७५ सालमा मनाङ मर्स्याङ्दी क्लबले लिग जित्दाका कप्तान विराजले ०७६ मा पनि आफ्नै कप्तानीमा मच्छिन्द्र क्लबलाई पहिलो पटक लिगको उपाधि दिलाएका थिए। तर, यस सिजन भने उनी टोलीलाई ‘ए’ डिभिजनमा टिकाइ राख्न असफल रहे। विसं २०७३ असोजमा ‘बी’ डिभिजनको विजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको च्यासल २०७५ सालको लिगमा आठौं स्थानमा रह्यो। २०७६ मा भने च्यासल लिगको नवौं स्थानमा रह्यो।

गत वर्ष कोभिड–१९ महामारीका कारण लिग सञ्चालन भएन। यस सिजन महत्त्वाकांक्षी योजना लिएको च्यासल पहिलो खेलबाटै संघर्षमा देखियो। १२ खेलमा एक जित मात्र निकालेको च्यासलले तीन बराबरी र आठ हारको नतिजा सामना गर्‍यो। यस क्रममा च्यासलले २१ गोल बेहोर्दा पाँच गोल मात्र गर्‍यो। अन्तत् एक खेल अगावै च्यासल रेलिगेसनमा पर्‍यो। मुख्य प्रशिक्षक बालगोपाल साहुखल बाहिरिएपछि दशौं चरणबाट प्रशिक्षणको जिम्मेवारी पाएका टोलीका टेक्निकल डाइरेक्टर लेइज म्यानसनले लिगको सुरुआतमा देखिएको समस्याले निरन्तरता पाउँदा ‘ए’ डिभिजनको हैसियत गुमाउनुपरेको बताए।

‘म निकै दुखी छु,’म्यानसनले भने, ‘हामीले ‘ए’ डिभिजन हैसियत कायम राख्न सकेनौं। टोलीले नराम्रो प्रदर्शन गरेर रेलिगेसनमा परेको होइन। हामीले पहिलो खेलबाटै पाएको अवसरलाई सदुपयोग गर्न सकेनौं। आज १२औं चरणमा पनि त्यसले निरन्तरता नै पायो। फुटबलमा राम्रो खेलेर मात्र हुँदैन। जित्नका लागि गोल चाहिन्छ, जुन हामीले गर्न सकेनौं। हामीले लिगको १२औं चरण समाप्त हुँदा मात्र पाँच गोल गरेका छौं, जसमा २ वटा पेनाल्टीमा हो ।’ म्यानसनले च्यासलका समर्थकसँग पनि माफी मागेका छन्। ‘म क्लबको बोर्ड र समर्थकसँग माफी माग्न चाहन्छु। हामीले आफ्नो जिम्मेवारी पूरा गर्न सकेनौं,’उनले भने, ‘मैले अन्तिम तीन खेलदेखि प्रशिक्षण सम्हालेको हुँ। तर पनि टोलीमा कुनै परिवर्तन ल्याउन सकिनँ। आज जित हात पारेको भए हामी सम्भवत् जोगिने थियौं। गर या मरको स्थितिमा हामीले खेल गुमायौं ।’

यता नवौं चरणको समाप्तिसम्म मात्र तीन अंक जोड्दै १४औं स्थानमा रहेको पे्रmन्ड्सले भने रेलिगेसन टार्ने सम्भावना बलियो पारेको छ। दशौं चरणमा ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै लिगकै पहिलो जित दर्ता गरेको फ्रेन्डसले ११औं चरणमा पुनरागमन गर्दै जावलाखेल युथ क्लबसँग एक अंंक खोस्यो। रेलिगेसन ‘ब्याटल’को रूपमा लिइएको च्यासलविरुद्ध फ्रेन्ड्सलाई तीन अंक दिलाउन पहिलो हाफमा जामौल एन्थोनीले गरेको दुई गोल नै पर्याप्त बन्यो। दोस्रो हाफमा मौसा अबगानाको गोलमा च्यासलले खेलमा फर्कने संकेत गरे पनि सफलता पाउन सकेन।

फ्रेन्ड्स १२ खेलबाट १० अंकसहित १२औं स्थानमा यथावत् छ। सोमबार ब्रिगेड ब्वाइज क्लबले सातदोबाटोलाई नतिजा सुम्पिएमा फ्रेन्ड्सले रेलिगेसन संकट टार्नेछ। सो खेलको नतिजा बिबिसीको पक्षमा रहे फ्रेन्डसले अन्तिम खेलमा हिमालयन शेर्पालाई हराउनुपर्ने हुन्छ। ‘हामी आज हारेको भए, ए डिभिजन हैसियत गुम्ने थियो। आज जित हात पार्दै जोगिने सम्भावना उच्च बनाएका छौं,’फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले भने, ‘सोमबार बिबिसी र सातदोबाटोबीच खेलबाट हामीले रेलिगेसन टार्न अन्तिम खेलमा तीन अंक लिनुपर्छ की पर्दैन भन्ने प्रस्ट पार्छ। त्यसैले सो खेलमा हामी सातदोबाटोको जितको कामना गर्छौ।’

यता दुई खेल अगावै लिग उपाधि रक्षा गरिसकेको मच्छिन्द्रले जारी लिगमा आफ्नो अपराजित यात्रालाई १२ खेलसम्म निरन्तरता दिने क्रममा थ्री स्टार क्लबलाई १–० ले हरायो। इन्जुरी समयमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीको सदुपयोग गर्दा मच्छिन्द्रले अपराजित यात्रा कायम राखेको हो। मच्छिन्द्रको १२ खेलबाट ३२ अंक छ, जुन दोस्रो स्थानको मनाङको भन्दा १२ अंक बढी हो। मनाङले एक खेल कम खेलेको छ। थ्री स्टार भने १८ अंकसहित चौथो स्थानमा यथावत् छ। 

प्रकाशित: ८ फाल्गुन २०७८ ०३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App