१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पूर्वकप्तान खड्काको प्रमाणपत्र नक्कली ठहर

विशेष अदालतले नेपाली फुटबलका पूर्वकप्तान हरि खड्काको आइएको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर गर्दै ५ हजार रूपैयाँ जरिवानाको फैसला गरेको छ। विशेष अदालतका न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बिहीबार खड्काले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेस गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी गण नम्बर २ मा रहँदा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रीय खेलकुद समितिमा) कार्यरत तत्कालीन प्रहरी नायब निरीक्षक खड्काको शैक्षिक योग्यता आइएको प्रमाणपत्र नक्कली भएको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

बिहीबार नै अदालतमा उपस्थित भएका खड्कालाई ५ हजार रूपैयाँ जरिवाना ठहर भएको प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए।

खड्काले माध्यमिक शिक्षा परिषद् उत्तरप्रदेशबाट जारी भएको आइएको झुटा प्रमाणपत्र पेस गरी २०५५ साल कात्तिक १ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भएका थिए। उनले प्रहरी सेवामा निरन्तर बहाल रही २०५९ पुस १४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भई सरकारलाई हानिनोक्सानी पुर्‍याएको अख्तियारको दाबी थियो।

आफूलाई लाभ हुने बदनियत राखेको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम दण्ड सजाय हुन मागदाबी लिई मुद्दा दर्ता गरेको थियो। अख्तियारले ६ महिनादेखि १ वर्षसम्म कैद र १० देखि २० हजारसम्म जरिवाना सजाय माग गरेको थियो। 

प्रकाशित: ६ फाल्गुन २०७८ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App