१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आगामि शनिबार ‘पोखरा म्याराथन’

१२ विदेशी धावकको सहभागिता

शनिबार आयोजना गरिएको १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारीको बारेमा जानकारी दिदैं नेपाल भुतपुर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरिप्रसाद पराजुलीसहित अन्य मञ्चका पदाधिकारीहरु। तस्बिर: उमेश पुन/नागरिक

१६ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’मा आगामी शनिबार धावकहरु दौडिने अन्तिम तयारीमा छन्। पाँचदेशका १२ धावकसहित १६५ जना धावकले म्याराथन एरिनामा उत्रिदैं छन्। अधिकांश धावक स्वदेशी छन्। विभागीय क्लब मध्ये त्रिभुवन आर्मी क्लबका म्याराथन धावकहरुको सहभागिता भने छैन्। दुई विभागीय क्लब नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका धावकहरुको सहभागिता रहने छ।

१५ औं सस्करणमा त्रिभुवन आर्मीका धावक राजन रोकायाले उपाधि जितेका थिए। उनले २ घण्टा २८ मिनेटको समय निकाल्दै च्याम्पियन बन्दा महिला तर्फको हाफ म्याराथनको पुरस्कार भने नेपाल प्रहरीकी राजपुरा प्रसाँइको नाममा लेखिएको थियो। खुल्ला म्याराथन तथा महिला हाफ म्याराथन तर्फ २ सय ५ जना धावकहरुको सहभागिता रहने आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए। बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैं अध्यक्ष पराजुलीले दुवै म्याराथनमा १७ जिल्लाका धावक एवं धाविकाले प्रतिस्पर्धा गर्ने बताए।  

खुल्ला म्याराथनमा १६२ जना पुरुष धावकहरुले प्रतिस्पर्धा गर्नेछन्। म्याराथनमा केन्याका ५ जना धावक पहिलोपटक पोखरा आउँदै छन्। केन्याली धावकसहित बंगलादेश, भारत, बेलायत, अमेरिकन धावकले प्रतिस्पर्धा गर्नेछन्। विदेशी धावकको चुनौति सामना गर्न स्वदेशी धावकहरुको उपस्थिति रहने छ। विभिन्न जिल्लाका धावकहरुले दौडको लागि आफ्नो नाम दर्ता गराईसकेका छन्। ‘१७ जिल्लाका धावकहरुले प्रतिस्पर्धा गर्नेछन्।’ पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष पराजुलीले भने ‘जुम्लादेखि झापासम्मका धावकहरु सहभागि भएका छन्।’ विभागीय क्लबका धावकले आफनो शाख जोगाउने अभियानमा हुनेछन्। दौड पोखरा रंगशालाबाट शुरु भई पोखराको विभिन्न ठाँउ परिक्रमा गरेर पोखरा रंगशालामै आई टुंगिने छ।  

महिला हाफ म्याराथनमा ३९ धाविकाले प्रतिस्पर्धा गर्ने अध्यक्ष पराजुलीले जानकारी दिए। अधिकांश धावक नयाँ भएको समेत उनको भनाई थियो। उनका अनुसार गतवर्ष दौडिएका धावकहरुको उपस्थिति केही कम छ। पोखरा म्याराथनमा त्रिभुवन आर्मी क्लबका धावक आनन्दमान श्रेष्ठले २ घण्टा २५ मिनेट ०५ सेकेण्डमा पुरा गर्दै उपाधि जित्दा बनाएको किर्तिमानी समय अझै तोडिएको छैन्। म्याराथन र हाफ म्याराथन बाहेक अन्य इभेण्टलाई भुतपुर्व खेलाडी मञ्चले कोभिड–१९ लाई मध्यनजर गर्दै चैतको दोस्रो शनिबार आयोजना गर्ने निर्णय गरेको छ।  

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत अन्य ६ वटा इभेन्टहरु आयोजना गरिने छ। चैत्र १२ गते शनिवार महिला–पुरुष १० किमि दौड, विद्यालयस्तरीय छात्रछात्रा ५ किमि दौड, महिला–पुरुष ह्विलचियर तथा दृष्टिविहीन दौड आयोजना गरिने मञ्चले उल्लेख गरेको छ। खुल्ला ४२.१९५ किलोमिटर म्याराथनको नेपाली खेलकुदको इतिहासमा सर्वाधिक पुरस्कार राशी प्रदान गरिने मञ्चले जनाएको छ। म्याराथन विजेता धावकले चारलाख प्राप्त गर्ने छ। द्वितीयलाई २ लाख, तृतियलाई १ लाख र सान्त्वना स्वरुप चौथो हुने धावकलाई ३० हजार प्रदान गरिने मञ्चका अध्यक्ष पराजुलीले सुनाए। महिला तर्फको हाफ म्याराथनमा विजेताले नगद १ लाख रुपैयाँ, उपविजेताले ७५ हजार, तेस्रो हुनेले नगद ५० हजार र सान्त्वना हुने धाविकालाई नगद १५ हजार रुपैयाँ प्रदान गरिने छ।  

पोखरालाई खेलकुद शहर एवं खेलकुद पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित २०५८ सालदेखि मञ्चले पोखरा म्याराथन आयोजना गर्दै आएको छ। शुरुवातको समयमा राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको थियो। त्यसपछि राजनीतिक अस्थिरतासँगै वाणिज्य बैंकले मुख्य प्रायोजनबाट पछि हट्यो। २०६५ सालमा १० किलोमिटर दौड मात्रै आयोजना गरिएको थियो। त्यसपछिको संस्करण एकैपटक ०७२ सालमा आएर आयोजना गरिएको थियो। २०६४ पछि २०७२ सम्मको अवधिमा मुख्य प्रायोजनकै अभाव र आर्थिक सहयोग जुटाउन नसक्दा मञ्चले म्याराथनलाई थाँती राख्यो। पोखराको प्रतिष्ठासँग जोडिएको म्याराथनलाई सुजल डेरीको उत्पादन सफल दूधले प्रायोजन गरेपछि फेरी व्यँुतिएको हो । सफल दूधले निरन्तर मुख्य प्रायोजन गर्दै आएको छ।  

प्रकाशित: ५ फाल्गुन २०७८ ०८:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App