५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

हाज्लेउडको पुनरागमन सुखद

तीव्र गतिका बलर जस हाज्लेउडले १२ रन खर्चंदै ४ विकेट लिएर आफ्नो पुनरागमन सुखद पारेको दिन शुक्रबार अस्ट्रेलियाले पहिलो ट्वान्टी–२० खेलमा श्रीलंकालाई डकवर्थ लुइस पद्धतिमा २० रनले हराउँदै पाँच खेलको शृंखलामा १–० को अग्रता लिएको छ।

मुख्य प्रशिक्षक जस्टिन ल्यांगरले केही दिनअघि मात्र अप्रत्याशित रूपमा पदबाट राजीनामा दिएपछि अस्ट्रेलिया अन्तरिम प्रशिक्षक एन्ड्य्रु म्याकडोनाल्डको प्रशिक्षणमा मैदान उत्रिएको थियो। नोभेम्बरमा ट्वान्टी–२० विश्वकप जितेपछि अस्ट्रेलिया पहिलो पटक ट्वान्टी–२० खेलका लागि मैदान उत्रिएको हो।

अस्ट्रेलियाले श्रीलंकासामु जितका लागि १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर वर्षाले खेल प्रभावित बनेपछि श्रीलंकाले १९ ओभरमा १ सय ४३ रनको नयाँ विजयलक्ष्य पाएको थियो। श्रीलंकाले १९ ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन मात्र जोड्न सक्यो।

श्रीलंकाका ओपनर पाथुम निशंकाले ३७ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३६ रन जोड्दा दिनेश चण्डीमलले १६ बलमा ३ चौका र १ छक्काको मद्दतमा अविजित २५ रन जोडे।

त्यस्तै चारिथ आसलंकाले १९ बलमा २ चौकाको मद्दतमा १६ रन बनाए। वानिडु हसरंगा डी सिल्भाले १३ रन बनाए। अस्ट्रेलियाका हाज्लेउडले ४ विकेट लिँदा एडम जाम्पाले ४ ओभरमा १८ रन खर्चंदै ३ विकेट लिए। त्यस्तै प्याट कमिङ्सले १ विकेट लिए।

‘हामी लामो समयपछि ट्वान्टी–२० क्रिकेटमा मैदान फर्किए पनि स्वाभाविक जितलय कायम राख्न सफल भयौं,’ अस्ट्रेलियाका कप्तान एरोन फिन्चले भने, ‘हामी ब्याटिङमा जम्न नसके पनि बलिङमा भने उत्कृष्ट प्रदर्शन रह्यो।’ यसअघि टस हारेर ब्याटिङका लागि आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रनको योगफल खडा गरेको थियो।

अस्ट्रेलियाका लागि ओपनर बेन म्याकडरमेटले सर्वाधिक ५३ रनको योगदान गरे। ४१ बलको सामना गरेका बेनले २ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै जस इग्लिसले २८ बलमा ३ चौकाको मद्दतमा २३ रन जोडे। बेन र जसले दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए।

त्यस्तै मार्कुस स्टोइनिसले १७ बलमा २ चौका र २ छक्का मद्दतमा ३० रनको योगदान गरे। श्रीलंकाका हसरंगा डी सिल्भाले ३ तथा दुस्मान्था चामिरा, बिनुरा फर्नान्डो र चामिका करुणारत्नेले समान २ विकेट लिए।

प्रकाशित: २९ माघ २०७८ ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App