काठमाडौंमा अब क्रमशः चिसो घट्दै जाने र तापक्रम बढ्दै जाने मौसमविद्हरूले अनुमान गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी दिनमा अधिकतम तापक्रम विस्तारै वृद्धि हुने भएकाले चिसोको प्रभाव कम हुँदै जानेछ।
विभागका तथ्यांकअनुसार यस वर्ष काठमाडौंमा पुस ३० गते सबैभन्दा चिसो दिन रहेको थियो। सो दिन न्यूनतम तापक्रम २ दशमलब ३ डिग्री सेल्सियसमा झरेको थियो। त्यसअघि पुस २५ गते न्यूनतम तापक्रम २ दशमलब ४ डिग्री पुगेको थियो भने पुस २८ गते ४ दशमलब ९ र पुस १५ गते ४ दशमलब ८ डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ।
यसैबीच, माघ १५ गते काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा भएको थियो। सो दिन काठमाडौंमा २ दशमलब २ मिलिमिटर वर्षा मापन गरिएको थियो। उक्त दिन सबैभन्दा बढी वर्षा डडेलधुरामा २९ दशमलब ६ मिलिमिटर भएको थियो। त्यसपछि वीरेन्द्रनगरमा १६ दशमलब १ मिलिमिटर, जुम्लामा ८ दशमलब ५ मिलिमिटर र दाङको घोराहीमा ११ दशमलब २ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। पूर्वी नेपालमा भने सो दिन वर्षा भएको थिएन।
विभागका अनुसार बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस पुगेको छ भने न्यूनतम तापक्रम ५ दशमलब १ डिग्री सेल्सियस मापन गरिएको छ।
मौसम पूर्वानुमानअनुसार शुक्रबार दिउँसो तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ। कोशी प्रदेशका पहाडी र हिमाली भूभाग तथा गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागको मौसम सामान्यतया सफा रहने अनुमान छ। शुक्रबार राति तराईका थोरै स्थानमा हुस्सु लाग्नेछ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ।
यसैगरी शनिबार तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने विभागको भनाइ छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।
यता वातावरणविद्हरूले प्रदूषणको दृष्टिले चिसो याम गर्मी यामभन्दा बढी जोखिमपूर्ण हुने बताएका छन्। उनीहरूका अनुसार चिसो मौसममा हावाको बहाव कम हुने भएकाले धुलोका मसिना कण (पीएम २.५) सतहमै जमेर वायुमण्डलमा रहिरहन्छन्, जसले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। गर्मी याममा भने हावाको बहाव बढी हुने भएकाले यस्ता कण माथिल्लो तहसम्म फैलिने गर्छन्।
प्रकाशित: २२ माघ २०८२ १८:५७ बिहीबार





