५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

ब्रिगेडमाथि मनाङको संघर्षपूर्ण जित, उक्लियो शीर्षस्थानमा

बलको लागि संघर्ष गर्दै मनाङका पुजन उपरकोटी र ब्रिगेडका ड्याडी जुनियर वाम्बा। तस्बिरः उमेश पुन/नागरिक

ब्रिगेड ब्वाईज क्लबमाथि १¬० को संघर्षपूर्ण जित निकाल्दै मनाङ मर्स्याङ्दी क्लब कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ। शनिबार मनाङको घरेलु मैदान पोखरा रंगशालामा यो दोस्रो जित हो।  

यसअघि मनाङले घरेलु मैदान नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो। जितले मनाङलाई एएफसी खेल्ने सम्भावनालाई जिवितै राखेको छ।  

पहिलो हाफको अतिरिक्त समयमा कप्तान अन्जन विष्टको हेडर निर्णायक गोल भएपछि मनाङले स्पष्ट तीन अंक आफ्नो खातामा जोड्न सफल रह्यो पोखरामै दोस्रो पटक प्लेयर अफ दि म्याच घोषित विष्टले रिवाउण्ड बललाई गोलको लागि उपयोग गरेका हुन्। दिनेश राजवंशीको दिएको पासलाई ब्रिगेडका गोलकिपरले पन्च गरेपनि क्लियर हुन नसकेको बललाई विष्टले हेडर गर्दै पोष्टको दिशा दिएका थिए। घरेलु मैदानमा उनको यो तेस्रो गोल थियो।  

मनाङको अग्रता अघि नै ब्रिगेडले अग्रता लिने अवसरलाई गुमाउन पुग्यो। १६ औं मिनेटमा पाएको पेनाल्टी चुकाउँदा ब्रिगेडले मनाङमाथि अग्रता लिँदै दबाव सिर्जना गर्न चुक्न पुग्यो। आदित्य चौधरीले डिबक्सभित्र शिशिर लेखीलाई लडाएपछि रेफ्रीले पेनाल्टीको अवसर दिए। तर पेनाल्टीलाई लेखीले सदुपयोग गर्न सकेनन्। उनको पेनाल्टी प्रहार क्रसबार भन्दा धेरैमाथिबाट बाहिरिएपछि ब्रिगेड क्वाईजको लागि खेलमा भुल्न नसकिने पीडा बन्यो।  

पहिलो हाफ दुवैले उत्कृष्ट प्रदर्शन गरे। तर दोस्रो हाफ दुबै दबावमा खेले। २२ औं मिनेटमा ब्रिगेडका रजत तिवारीले डिफेन्सलाई विट गर्दै हानेको बल मनाङका गोल रक्षककै हातमा पर्यो। २९ औं मिनेटमा लेखीले मिलाईदिएको पासलाई रुदी एमबाकोपले हानेको भली बाहिरिन पुग्यो।  

मनाङले पनि केही अवसरलाई सदुपयोग गर्नबाट टाढै रह्यो । २९ औं मिनेटमा पुजन उपरकोटीले दिएको पासलाई अफसाईट विट गर्दै हानेको प्रहार ब्रिगेडका गोल किपर गुरप्रित सिंहले पन्च गर्दै बचाए।  

३३ औं मिनेटमा ओलावालेको प्रहारलाई पनि बचाउँदै खेललाई प्रतिस्पर्धात्मक बनाईराखे। ३९ औं मिनेटमा निशान लिम्बुले सिक्स यार्डबक्सबाट हानेको पावर सट फष्टबार हुँदै बाहिरिएको थियो। दोस्रो हाफमा पुजन उपरकोटीले हानेको फ्रिकिक बललाई दिनेश राजवंशीको हेड क्रसबारमा लागेर बाहिरिँदा अग्रता दोब्बर बनाउनबाट मनाङ बन्चित हुन पुग्यो। मनाङले अर्को खेल घरेलु मैदानमा च्यासल युथ क्लबसँग यही पुस २४ गते खेल्ने छ। यो नै मनाङले पोखरामा खेल्ने लिगको अन्तिम खेल हुने छ।  

प्रकाशित: १७ पुस २०७८ १२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App