७ वैशाख २०८१ शुक्रबार
खेल

कतारविरुद्ध शृंखला क्लिन स्विप

कतारविरुद्ध १ सय ९ रनको फराकिलो जित निकाल्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला क्लिन स्विप गरेको छ।

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा कतार निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर ५५ रनमा समेटिँदा नेपालले शृंखला क्लिन स्विप गरेको हो।

नेपालले दिएको १ सय ६५ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको कतारका लागि अलिना खानले सर्वाधिक १९ रनको पारी खेल्दा कप्तान आयेशाले १३ रनको योगदान गर्दै पवेलियन फर्किइन्। अन्य ब्याट्सवुमनले भने दोहोरो अंकको स्कोर गर्न सकेनन्। १६औं ओभरमा ७ विकेट गुमाएर ५० रन जोडेको कतारले बाँकी ओभरमा मात्र ५ रन जोडेको थियो।

कसिलो बलिङ गर्दै कतारलाई निरीह बनाउने क्रममा नेपालका लागि कप्तान रुबिना क्षेत्री, सरस्वतीकुमारी चौधरी र सवनम राईले समान १/१ विकेट हात पारे भने चार खेलाडी रनआउट भएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाएर १ सय ६४ रन जोडेको थियो। नेपालका लागि उपकप्तान सीता रानामगरले अविजित ८२ रनको अर्धशतकीय इनिङ खेलिन्।

७२ बलको सामना गरेकी सीताले ७ चौका प्रहार गरेकी थिइन्। यससँगै सिताले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक पनि पूरा गरकी छिन्। यस्तै ज्योति पाण्डेले २४ तथा डोली भट्टले १२ रन बनाउँदा काजल श्रेष्ठ १२ रनमा पवेलियन फर्किइन् भने सरिता मगर १७ रनमा अविजित रहिन्। नेपालको तीन विकेट निकाल्ने क्रममा कतारकी एन्जेलिन मारे, साची ढाटवाल र आयशाले १/१ विकेट लिए।

तीन खेलको शृंखलाअन्र्तगत नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ रनले हराएको थियो भने दोस्रो खेलमा बुधबार ६१ रनको जित निकाल्न सफल भएको थियो।

पहिलो अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा ऐतिहासिक सफलता प्राप्त गरेको नेपालले आइसिसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोटको तयारीस्वरूप कतारसँग तीन खेलको ट्वान्टी–२० शृंखला खेलेको हो। विश्वकप छनोट भने नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ। टोली शुक्रबार विश्वकप छनोटका लागि कतारबाटै दुबई प्रस्थान गर्ने तालिका छ।

प्रकाशित: ३ मंसिर २०७८ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App