७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

महिला टोलीले जित्यो मैत्रीपूर्ण शृंखला

आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीले बुधबार बंगलादेशको स्थानीय टोली बंगलादेश कृरा शिक्षा प्रतिष्ठान(बिकेएसपी) विरुद्धको मैत्रीपूर्ण ट्वान्टी–२०शृंखला जितेको छ।

बंगलादेश कृरा शिक्षा प्रतिष्ठानको घरेलु मैदानमा बुधबार तेस्रो तथा निर्णायक खेल जित्दै नेपालले तीन खेलको शृंखला २–१ ले आफ्नो बनाएको हो। संयुक्त अरब इमिरेट्स (युएई) मा आगामी नोभेम्बर २२ देखि आयोजना हुने ट्वान्टी–२० विश्वकपको एसिया छनोटको तयारीका लागि नेपाल बंगलादेश पुगेको थियो। जहाँ नेपाली टोलीले स्थानीय क्लबसँग सन्तोषजनक प्रदर्शन गर्न सकेन।

दोस्रो खेल गुमाएको नेपालले तेस्रो तथा निर्णायक खेलमा भने बिकेएसपीमाथि सात विकेटले जित निकाल्यो।५४ रनको सामान्य लक्ष्य नेपालले १४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। नेपालका कविता जोशीले १४ रन र सरिता मगरले १३ रनको अविजित इनिङ खेल्दै जित दिलाए।

त्यसअघि नेपालको सुरुआत पनि राम्रो हुन सकेन। उसका शीर्ष तीन ब्याट्सवुमन सस्तैमा पवेलियन फर्किए।काजल श्रेष्ठ १०, इन्दु बर्मा ६ र सीता रानामगर ५ रनमा आउट भए। काजल र सीताले पहिलो विकेटका लागि २० रनको साझेदारी गरेका थिए।

बंगलादेशकी रबैयाले सीतालाई क्लिन बोल्ड गर्दै त्यो साझेदारी तोडिन्। खातामा थप एक रन पनि नजोड्दै नेपालले अर्का ओपनर काजललाई पनि गुमायो। तर,चौथो विकेटका लागि सरिता र कविताले २२ रनको साझेदारी गर्दै जित दिलाए।बिकेएसपीको बलिङमा रबैया खातुनले दुई ओभरमा दुई विकेट लिँदा८ रन खर्चिन्।

अर्की बलर रबैयाले चार ओभरमा एक मेडनसहित एक विकेट लिँदा ९ रन मात्र बेहोरिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बिकेएसपी १६.५ ओभरमा ५३ रनमै समेटियो। बिकेएसपी बोन्याले नटआउट १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालकी कप्तान रुविना क्षेत्रीको घातक बलिङसामु बिकेएसपीका ब्याट्सवुमन निरीह बन्न बाध्य भए।रुविनाले तीन ओभरमा मात्र ६ रन खर्चेर चार विकेट लिइन्। करुणा भण्डारीले पनि चार ओभरमा १३ रन मात्र खर्चिंदा दुई विकेट निकालिन्। कविता कुँवर र सीता रानामगरले १/१ विकेट लिए। बिकेएसपीका दुई खेलाडी रनआउटका सिकार भए।

उक्त खेलको प्लेयर अफ दी म्याच रुविना घोषित भइन्। उनी नै सिरिजको उत्कृष्ट खेलाडी पनि बनिन्। नेपाली टोली बिहीबार नेपाल आउनेछ। आगामी नोभेम्बर १४ तारिखमा कतारसँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने तालिका छ।नेपालको प्रस्तावमा कतारसँग नोभेम्बर १६, १७ र १८ तारिखमा तीनवटा ट्वान्टी–२० खेल्ने भएको हो।

उक्त शृंखलापश्चात् नेपाली टोली कतारबाटै युएई प्रस्थान गर्नेछ। एसियाली छनोट प्रतियोगिता नोभेम्बर १९ देखि २९ सम्म हुनेछ।

जहाँ नेपालले पहिलो खेलमा नोभेम्बर २२ मा हङकङसँग, दोस्रो खेल २३ मा भुटानसँग, तेस्रो खेल नोभेम्बर २५ मा कुवेतसँग खेल्नेछ। त्यसपछि नेपालले मलेसियासँग नोभेम्बर २६ मा चौथो र पाँचौं खेल नोभेम्बर २८ मा युएईसँग खेल्नेछ। उक्त छनोटमा शीर्ष हुने टोली आगामी वर्ष हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ।

प्रकाशित: २५ कार्तिक २०७८ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App