१ चैत्र २०८२ आइतबार
image/svg+xml
अपराध

श्रीमान र सासुको हत्या प्रकरण: पत्नी र उनका साथी प्रहरी नियन्त्रणमा

श्रीमान र सासुको हत्या गराएको आरोपमा एक महिलासहित एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय बाराले बुधबार नियन्त्रणमा लिएको छ। परवानीपुर गाउँपालिका–१ रहरियाडीका रामईश्वर महतोकी पत्नी मनिता देवीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनका पुरुष साथी धर्मेन्द्र महतोलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार राति घरमै सुतिरहेको अवस्थामा रामईश्वर महतो र उनकी आमा सुमिन्त्रा देवीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। घटनामा संलग्न भएको आशंकामा मनिता देवीसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए।

घटनाका क्रममा घरमै रहेका जगरुप महतो र रिना देवीलाई पनि धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरिएको थियो। घाइते दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाको प्रकृति हेर्दा मृतकको परिवारका सबै सदस्यलाई लक्षित गरी आक्रमण गरिएको देखिएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक तुपेन्द्र श्रेष्ठले बताए।

प्रारम्भिक अनुसन्धान अनुसार मनिता देवीले श्रीमान र सासुको हत्या गराउनकै लागि वैदेशिक रोजगारीमा रहेका धर्मेन्द्र महतोलाई तीन दिनअघि नेपाल बोलाएको खुलेको छ। प्रहरीका अनुसार धर्मेन्द्र नेपाल फर्किएपछि आफ्नै घर नगई वीरगन्जमा बसेर घटनाको योजना बनाएका थिए।

रामईश्वर महतो र मनिता देवीबीच आठ वर्षअघि विवाह भएको र उनीहरूका दुई छोरी रहेका छन्। परिवारका सदस्यका अनुसार मनिता देवी पछिल्ला तीन वर्षदेखि घरायसी विवादमा संलग्न हुँदै आएकी थिइन्। करिब छ महिना अघि घर छाडेर गएकी उनी एक महिना अघि मात्र पुनः घर फर्किएकी थिइन्।

घटनाको राति मनिताले कोठा भित्रबाट बन्द गरी करिब राति २ बजेतिर धर्मेन्द्रलाई घरभित्र प्रवेश गराएर हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि घरमा रहेका ६ वर्षे बालकले बाहिर आएर छिमेकीलाई जानकारी गराएका थिए।

घटनापछि रहरियाडी गाउँमा त्रासपूर्ण वातावरण सिर्जना भएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको र अनुसन्धान सम्पन्न भएपछि थप जानकारी सार्वजनिक गरिने जनाएको छ।

 

प्रकाशित: १४ माघ २०८२ १९:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App